कहाँ पुग्यो धरहरा निर्माणको काम ?

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

२०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबिचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिइसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८.६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ ।

धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख कोषनाथ अधिकारीले जग्गा विवाद, स्थानीयको विभिन्न माग तथा अवरोध, कोभिड–१९ को महामारी तथा बन्दाबन्दी र निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्झौता अनुसारको निर्धारित समयमा काम सम्पन्न नहुँदा पटक पटक म्याद थप गर्नु परेको बताउनुभयो ।

निर्धारित समयमा काम सम्पन्न नहुँदा तत्काल गरिएको डिजाइन अनुसारका सामान नपाउने, पाए पनि अत्यधिक महँगो हुने भएकाले समेत काममा ढिलाइ हुन गएको उहाँको भनाइ छ । उहाँले काममा जति ढिलाइ हुँदै गयो त्यति नै यो समस्या थपिँदै जाने स्पष्ट पार्नुभयो । कुल तीन अर्ब आठ करोड ११ लाख रुपियाँको लागत रहेको सो आयोजनामा अहिलेसम्म निर्माण कम्पनीलाई दुई अर्ब ४५ करोड ७४ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

उहाँले भन्नुभयो, “धरहरा निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनी जिआइइटिसी–रमण (संयुक्त) का कामदार बसिरहेको टुँडिखेलको टहरोमा काठमाडौँ महानगरपालिकाले डोजर चलाउँदा तथा पछिल्लो समय महानगरपालिकाले धरहराको बेसमेन्टमा पार्किङ सञ्चालन गर्दा निर्माण कार्यमा थप अवरोध हुने देखिएको छ ।” ठेकेदार कम्पनीका मजदुर बसेको टहरामा डोजर चलाउनु र निर्माण सम्पन्न नहुँदै बेसमेन्टमा पार्किङ सञ्चालन गरेको विषयलाई निर्माण कम्पनीले मुद्दा बनाएको उहाँको भनाइ छ ।

मुख्य निर्माण सम्पन्न
आयोजना प्रमुख अधिकारीले धरहरा निर्माणको मुख्य संरचनाको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिभिल इन्जिनियरिङ अनुसार मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन् । त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सिसिटिभी जडान, रङरोगन, फिनिसिङको काम बाँकी छ ।”

तत्कालीन राजा रणबहादुरकी पत्नी ललितत्रिपुरासुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा परी भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो । त्यस बखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो । अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *