काठमाडौँमा विदेशी खेलाडीसहित ‘फिफ्टिन रग्बी लिग च्याम्पियनसिप’ हुँदै

काठमाडौँ । केही विदेश खेलाडीसहित पाँचौँ फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ ।

नेपाल रग्बी संघको आयोजनामा लिग फरम्याटको फिफ्टन रग्बी लिग फागुनको ६ देखि १२ गतेसम्म हुन लागेको हो । संघले मङ्गलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दियो ।

उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । तीन विभागीय टोली नेपाल आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबका साथै गोर्खाली रग्बी क्लबले लिगमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

गत संस्करण खेलका कालभैरव रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले भने यस पटक सहभागिता नजनाउने भएका छन् । संघका अध्यक्ष दीपक देवकोटाले रग्बी सेभेन्सभन्दा फिफ्टिन ‘ए’ साइड केही कठिन र रोमाञ्चक हुने भएकाले प्रतियोगितामा सहभागिताका लागि मापदण्ड तय गरिएको र सो मापदण्डअनुरूप नभएका क्लबको सहभागिता अस्वीकृत गरिएको बताए ।

फिफ्टिनको लिग खेल्न २० वर्षभन्दामुनिको खेलाडी रोक लगाइएको अध्यक्ष देवकोटाले बताए ।

हरेक क्लबले न्यूनतम २१ खेलाडी र अधिकतम् २६ खेलाडी समावेश गराउने मापदण्ड तय गरिएको संघले जनाएको छ । एउटा टोलीमा पाँच जना विदेश खेलाडी राख्न पाउने प्रावधान रहेको र गोर्खाली क्लबले पाँच खेलाडीको नाम दर्ता गराएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

संघले हरेक क्लबलाई एक लाख ६० हजार रुपैयाँ प्रतियोगिताको तयारीका लागि बजेट उपलब्ध गराएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र पदक पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि तय गरेको खेलकुद बीमा यस प्रतियोगितामा पनि समावेश गरिएको संघले जनाएको छ ।

संघले यसै प्रतियोगितामार्फत राष्ट्रिय टोली छनोटसमेत गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *