प्रथम (NAPFS) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता सुरू

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा प्रथम (NAPFS) अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता सुरू भएको छ । आजबाट सुरु भएको प्रतियोगिता फागुन ८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा उद्‍घाटन कार्यक्रम आज सम्पन्न भएको हो । प्रतियोगितामा उपत्यकास्थित १७, काभ्रे जिल्लाबाट १ गरी १८ वटा विद्यालयहरुको १८ टिम बिच लिग कम नकआउट आधारमा खेल संचालन हुनेछ ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ स्कुलहरु, अन्य विद्यालयहरु तथा फुटबल क्लबहरुलाई समेत समेटी राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने यस प्रतियोगिताको उद्देश्य रहेको छ । खेल अन्तर्गत लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) बीच भएको खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर ३-१ गोल अन्तरले आजको लिग चरणको प्रथम खेल जित्न सफल भएको छ भने दोश्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीको विशेष आतिथ्यता रहेको थियो भने यस विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य दिएका थिए ।विद्यालय अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राज कुमार प्याकुरेलले खेल प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै अवसरमा विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईद्धारा प्रमुख अतिथि, विशेष अतिथि विभिन्न संचार माध्यमबाट उपस्थित हुनु भएका संचारकर्मीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्‍न कार्यालयबाट उपस्थित हुनु भएका पदाधिकारीहरु, अखिल नेपाल फुटबल संघका पदाधिकारीहरु, सम्पूर्ण रेफ्री तथा व्यवस्थापकहरु, विभिन्न विद्यालयबाट पाल्नु भएका टिम कोच तथा व्यवस्थापकहरु, बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, शिक्षक शिक्षिकाहरु, नेपाल एपीएफ स्कुल पूर्व विद्यार्थी संघका प्रतिनिधिहरु खेलाडी विद्यार्थीहरु लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका हुन् ।

आजको उद्‍घाटन खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरका उत्कृष्ट खेलाडी आर्यन थापालाई Man of the Match घोषित गरी सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीद्धारा ट्रफी प्रदान गरेका थिए भने दोश्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरका खेलाडी भुवन कामी Man of the Match घोषित भई विद्यालय प्रधानाचार्यले ट्रफी प्रदान गरेका थिए ।

भोलि हुने खेलहरु
१. नेपाल एपीएफ स्कुल कीर्तिपुर, (ख) विरुद्ध पुष्पसदन स्कुल, कीर्तिपुर, काठमाडौँ
२. डि.ए.भि. स्कुल, जावलाखेल, ललितपुर विरुद्ध मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, काठमाडौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *