बाँदरले सताएपछि गाउँलेहरुले थाले रुख काट्न

वालिङ । पछिल्लो समय बाँदर वनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेका छन् । घरनजिकै रहेका ठुला रुख र बाँसघारीमा बस्ने र मौका पर्दा घरभित्रै छिरेर अन्नपात खाइदिने गरेको भन्दै गुनासो आउने गरेको छ । बाँदरले दैनिक करेसाबारीमा लगाएको तरकारी र फलफूल खाने तथा बिगार्ने गरेका छन् ।

घरनजिक ठुला र अनावश्यक रुख हुँदा बाँदर घरमा नै आएको र समस्या बनाएको भन्दै वालिङका विभिन्न ठाउँमा यस्ता रुख कटान गर्न थालिएको छ । वालिङ नगरपालिका-६, ८ र १४ का विभिन्न ठाउँमा रुख कटान गर्ने काम भइरहेको वडा कार्यालयले जनाएका छन् ।

वालिङ-१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)ले गाउँलेले स्वस्फूर्त रूपमा अनावश्यक रुख कटान गर्नु पर्‍यो भनेर आएपछि सहजीकरण गरेको बताए । उनले भने, ‘घर वरिपरि रहेका रुखका कारण बाँदरले सताइरहेको छ भने अनावश्यक झाडीका कारण चितुवाले त्रास बनाइरहेको छ ।’ दिउँसै मान्छेलाई चितुवाले आक्रमण गरेपछि घर वरिपरि रहेका झाडी पनि कटान गर्ने काम भइरहेको उनको भनाई छ ।

बाँदरले खेतबारीमा लगाएको अनबाली नष्ट गरिदिने तथा घरमा नै पस्ने गरेपछि वालिङ–६, पाण्डे गाउँका स्थानीयले रुख कटान गरिरहेका छन् । नेपाली कांग्रेस वालिङका सभापति तथा स्थानीय नेत्रप्रसाद पाण्डेले सबै जनाले आफैँ पैसा जम्मा गरेर रुख कटान गरिरहेको बताए । उनले भने, ‘बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नुपर्ने अवस्था आयो ।’

जङ्गली जनावरका कारण उत्पादनसमेत घट्दै गएको पाण्डेले बताए । जङ्गली जनावरका कारण गाउँले बसाइँसराइ गर्ने अवस्थामा पुगेको भन्दै अनावश्यक रुख तथा झाडी सफा गर्न जुटेको उनको भनाई छ । जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहनुपर्ने अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ ।

वालिङ नगर उपप्रमुख कविता तिवारीले भने, ‘प्रायः जुनसुकै कार्यक्रममा पनि कृषकको गुनासो बाँदर नियन्त्रण गरिदिनु पर्‍यो भन्ने हुन्छ ।’ गाउँलेलाई अनावश्यक रुख र झाडी सफा गर्न पालिकाले सहजीकरण गर्ने उनको भनाई छ ।

बाँदर नियन्त्रण कसरी गर्ने भन्ने भरपर्दो उपाय नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइका लागि रुख काट्ने अभियान थालिएको वडाध्यक्ष कुँवरले बताए । बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा फलफूल, आलु, तरकारी, आदिलाई बिगारिदिने गरेको छ ।

घरभित्र राखेको अन्नसमेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक पेसाबाट नै पलायन हुने र बसाइँ सर्ने अवस्थामा पुगेका छन् । विगतमा बसाइँसराइ कम भएको र मानिस पनि धेरै हुँदा गाउँमा चहलपहल थियो । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *