जहाँ नाबालक मात्रै देउकेटा ‘पूजारी’ बन्छन्

सुर्खेत । करिब दिउँसोको ४ बजिसकेको थियो । पाँचौँ दिनको यात्रामा दैलेखको प्रसिद्ध ज्वाला बल्ने श्रीस्थान मन्दिर दर्शनपछि दुल्लुबजार छिचोल्दै तल्लो डुंगेश्वर पुगियो । डुंगेश्वर पुुगेपछि शिद्धेश्वर महादेव मन्दिर दर्शन नगरी फर्किने पनि कुरो भएन । कर्णाली नदी र लोहोरे खोलाको संगमस्थलमा रहेको शिद्धेश्वर महादेव मन्दिर दर्शन गर्नेको दैनिक भिड पनि लाग्ने रहेछ । मौसम निकै चिसो थियो । हामी मन्दिर प्रवेश गर्दा चौरमा चारजना बालक गुच्चा खेलिरहेका थिए । मन्दिरभित्र पूजारी नै थिएनन् । हामीले खेलिरहेका बालकलाई सोध्यौँ । बाबु मन्दिरका पूजारी खै ?, गुच्चा खेल्दै गरेका एक बालकले हत्तपत्त उठेर आए । अनि भने, अंकल मै हुँ पूजारी । मलाई आश्चर्य लाग्यो । फेरि सोधेँ, बाबु यहाँको मुख्य पूजारी कता जानुभाको छ ? मुख्य पूजारी नै मै हुँ ।

साधारण पोसाकमा रहेका ती बालक मन्दिरभित्र छिरे । र, एकैछिनमा पूजारीको पोसाकमा उत्रिए । मेरो मनमा कुरा खेलिरहेको थियो । तर, पहिले मन्दिर दर्शन गरेर पूजारीबाट टीका लगाएँ । अनि सोधपुछ गर्न थालेँ । मन्दिरका पूजारीलाई ‘देउकेटा’ भनिँदो रहेछ । उनै ‘देउकेटा’ सुवास गिरी १० वर्षको हुनुभएछ । उहाँ विगत चार वर्षयता मन्दिरको ‘देउकेटा’ पूजारीको भूमिकामा हुनुहुन्छ । मन्दिरमा भक्तजन नआएको बेला उहाँ त्यसैगरी साथीहरूसँग खेलेर बस्नुहुँदो रहेछ । अनि भक्तजन आएपछि हत्तपत्त उठेर मन्दिर दर्शन गराउनतर्फ लाग्नुहुँदो रहेछ ।

सुरुसुरुमा पूजापाठबारे खासै जानकार नभएका सुवासले अचेल सबै ज्ञान सिकिसक्नु भएको छ । उहाँलाई पूजापाठका लागि बुवा प्रेम गिरीले पनि सघाउने गर्नुभएको रहेछ । धार्मिक परम्पराअनुसार मन्दिरमा कुमार केटालाई ‘देउकेटा’ अर्थात् मुख्य पूजारी बनाउने चलन रहेछ । सोही चलनअनुसार सुवास पनि ६ वर्षकै उमेरमा ‘देउकेटा’ पूजारी नियुक्ति हुनुभएको रहेछ ।

दुल्लु नगरपालिका-१ स्थित उक्त मन्दिरमा सुवासभन्दा पहिले जीवन गिरी ‘देउकेटा’ चयन हुनुभएको रहेछ । २०७७ मा एसइई परीक्षा दिनुपर्ने र १८ वर्ष पूरा भइसकेको हुँदा जीवन गिरी मन्दिरबाट बाहिरिनुभएको रहेछ । धार्मिक परम्पराअनुसार ‘देउकेटा’ बनेका नाबालकको बिहे गर्ने उमेर भएपछि मात्रै पूजारीबाट बाहिरिने चलन छ । सुरसुरुमा सुवास गिरीलाई तिनै जीवन गिरीले काममा सहयोग गर्नुभएको रहेछ ।
हाल सुवास गिरी महादेव माविमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । सुवास करिब आठ वर्ष अझै मन्दिरमा ‘देउकेटा’ बस्नुपर्ने हुन्छ ।

परम्पराअनुसार गिरी परिवारबाट नाबालकलाई मन्दिरमा ‘देउकेटा’ पूजारी बनाउने चलन रहेछ । बिहान, बेलुका पूजापाठ गर्नु, मन्दिरमा आएका भक्तजनहरूलाई टीका लगाइदिनु देउकेटाको दिनचर्या हो । मन्दिरमा हप्ताको मंगलबार र शुक्रबार पूजापाठ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा देउकेटा विद्यालयसमेत जान नमिल्ने रहेछ । मन्दिरमा ‘देउकेटा’ले आफूले बनाएको खानाबाहेक होटलमा चिया, नास्ता नखाने, महिनावारी भएकालाई नछुने चलन छ । यदि छोएमा देवता रिसाउने र पूजारी बिरामी हुने, सर्पले लखेट्ने, घरमा अनिष्ट हुने अन्धविश्वास रहेको छ । पाठपूजा गर्न सक्ने उमेर देखि १८ वर्षसम्म मात्र ‘देउकेटा’ राख्ने चलन छ । देउकेटाको १८ वर्षपछि बिहेवारीको अवस्था रहने भएकाले परम्पराअनुसार ‘देउकेटा’ हटाउने गरिन्छ ।

‘देउकेटा’ सुवास गिरीलाई विद्यालयमा शिक्षकहरूले समेत छुट्टै राखेर पढाउने रहेछन् । विद्यालयमा साथीहरूसँग खेल्न मन लागे पनि सुवासले हेरेर बस्नुको विकल्प रहेनछ । धर्म संस्कारका नाममा बालबालिकाको अधिकार हनन गरिएको भन्दै केही अधिकारकर्मीले यसबारे विरोधसमेत गरेका रहेछन् । तर, धार्मिक आस्था खल्बलिने भन्दै विरोधका आवाजहरू बीचमै रोकिएका रहेछन् ।

आधुनिक समाजमा कलंकको रूपमा रहेको देउकी प्रथा क्रमशः हराउँदै गए पनि उक्त मन्दिरमा भने देउकी प्रथाकै झल्को दिने ‘देउकेटा’ प्रथा हट्न सकेको छैन । धार्मिक परम्परा अनुसार मन्दिरमा कुमार केटा ‘देउकेटा’ नचढाए अनिष्ट हुने, दैवी प्रकोप आउने जस्ता अन्धविश्वास कायमै छन् । उक्त मन्दिर दैलेखका पञ्चकोशी तीर्थस्थलको प्रवेशद्वार पनि हो । बालबालिकालाई धार्मिक स्थलमा देउकी, देउकेटा जस्ता कार्यमा संलग्न गराउन नहुने कानुनमा उल्लेख गरे पनि धार्मिक परम्पराअनुसार यस कार्यले निरन्तरता पाएको छ ।

वडा अध्यक्ष तर्कबहादुर खड्काका अनुसार ‘देउकेटा’ सुवासको खाजा, खाना तथा पूजापाठ खर्चका लागि वडाले समेत वार्षिक ६०-७० हजार रकम खर्च गर्दै आएको छ । मन्दिर संरक्षण र भौतिक संरचना निर्माणमा नगरपालिकाले बजेट व्यवस्थापन गरिरहेको छ । धार्मिक पर्यटन विकास तथा संरक्षणमा जोड दिनु राम्रो कुरा हो । तर, मन्दिरमा ‘देउकेटा’ अर्थात् पूजारी राख्दा नाबालकलाई मात्रै राख्नुपर्छ भन्ने धार्मिक अन्धविश्वास भने हटाउन जरुरी छ । नाबालकलाई ‘देउकेटा’ बनाउँदा उसको पढाइसँगै शारीरिक तथा मानसिक रूपमा पर्ने असरको पनि ख्याल गर्न जरुरी छ । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *