भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काभ्रे, बनेपा नगरपालिका–७ धनेश्वर पुलमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७० प ३७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका–२ स्थित सडकमा लु.७६ प ८०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका–१ छहरा बस्ने ३२ वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै धनुषा, मिथिला नगरपालिका–१० लालगढस्थित सडकमा ना।६ ख २३७३ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ७६ वर्षीया मेनका बर्तौलाको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








