एमाले कार्यकर्ताको विद्रोहले मैले चुनाव जिते : सिटौला

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा एमालेका कार्यकर्ताको विद्रोहले आफूले चुनाव जितेको बताएका छन् ।

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएपछि उनले आफूलाई एमालेका केही मतदाताले विद्रोह गरेर मत दिएकोले चुनाव जितेको प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेराउ गर्ने प्रवृत्ति हाबी हुने गरेको पनि बताए ।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले भने, ‘एमालेका जनस्तरका कार्यकर्ताको आफ्नो पार्टीको निर्णयप्रति विद्रोह गरेको होकि जस्तो मलाई लाग्छ ।’

सिटौलाले कोशीबाट राष्ट्रिय सभामा आफू निर्वाचित भएपनि गठबन्धनका अर्का उम्मेदवार चम्पादेवी कार्की पराजित हुनुमा गठबन्धनमा कहीँ न कहीँ त्रुटि भएको पनि बताए ।

उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेरेवन्दी हुने गरेको र यो पटक पनि त्यस्तै भएको आफूलाई महसुस भएको बताए ।

‘मलाई के लाग्छ भने म राष्ट्रिय राजनीतिमा जब खडा हुन्छु, मलाई घेराउ गर्ने प्रवृत्ति हाबी भएको जस्तो लाग्छ । यो निर्वाचनमा पनि मलाई त्यस्तो अनुभव भयो’, उनले भने, ‘सायद त्यही कारण चम्पादेवीप्रति बढी प्रहार भयो ।’

उनले नतिजाबारे प्रदेश तहमा विश्लेषण हुने भन्दै गठबन्धनमा पनि छलफल हुने बताए । उनले भने, ‘कहीँ न कहीँ त्रुटि भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *