राष्ट्रिय सभामा एमालेले गुमायो ८ सिट, माओवादी बन्यो ठूलो दल

निर्वाचनको मत परिणाम आएसँगै राष्ट्रिय सभामा दलीय हैसियत पनि बदलिएको छ।

बिहीबार सम्पन्न निर्वाचनको परिणाम पछि सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको हो। फागुन २१ गतेबाट आज निर्वाचित सांसदको कार्यकाल सुरु हुनेछ।

बिहीबार राष्ट्रिय सभाका १९ सिटमा निर्वाचन भएको हो। माओवादीले ५ सिटमा विजय हात पारेको हो। एक सिटमा भने पराजित हुन पुग्यो।

नेपाली काँग्रेसले आधा बढी १० सिटमा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एमालेले १/१ सिट जितेका छन्।

कोसी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी चम्पादेवि कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भइन्। अन्य सबै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भए।

राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित १६ सांसद छन्। आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रिय सभामा माओवादीका १८ सांसद पुग्छन्।

काँग्रेस हाल राष्ट्रिय सभामा १० सांसदसहित तेस्रो स्थानमा थियो। फागुन २१ बाट काँग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा निर्वाचनबाट १० थपिँदा १६ जना पुगेसँगै अब दोस्रो स्थानमा पुग्ने छ। निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने छ।

राष्ट्रिय सभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद छन्। १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। कोसी प्रदेशमा महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ। राष्ट्रिय सभा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *