पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन पक्राउ

काठमाडौं । लागु औषध मुद्दामा पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन् ।
पूर्वी रुकुमका मार्सललाई गत माघ ७ गते नै प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागु औषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।
‘मार्सल’ पक्राउ परेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले भने विरोध गरेका छन् ।
उनले पुनलाई ’जनयुद्धकालीन’ मुद्दामा गिरफ्तार गरेको दाबी गर्दै विरोध गरेका हुन् ।
‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं,’ भट्टराईले बुधवार सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।
प्रहरीले भने पुनलाई ’जनयुद्धकालीन’ मुद्दामा नभई लागु औषध मुद्दामा पक्राउ गरिएको बताएको छ ।








