माघ स्नान सुरु, श्रद्धाले स्नान गर्दा स्वर्ग लोकको उत्तराधिकारी भन्ने विश्वास

माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजा अर्चना गर्नु र सकेसम्म सात्त्विक, अल्प हार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्त्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।
माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान् नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।
पूर्णिमा व्रत
स्वस्थानी व्रत सुरु हुने यस पूर्णिमाको महत्त्व विशेष रहन्छ । त्यसै पनि हरेक पूर्णिमालाई बडो श्रद्धाका रूपमा मनाइने चलन हाम्रो सनातन सभ्यतामा रहिआएको नै छ ।
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पूजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ । –हाम्रो पात्रोबाट








