कुष्ठरोगी मेहता, जो दयाको पात्र होइन समाजका उदाहरणीय छन्

काठमाडौं । कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेयका दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले भित्रभित्रै लुकाउने गर्दथे । कुष्ठरोगीप्रति समाज संकुचित थियो ।

कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको संक्रमण आफूलाई सर्दछ भन्ने बुझाइ थियो समाजमा । त्यही कारण कुष्ठरोगीहरुले अरुको स्याहारसुसार पनि पाउँदैनथे । त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे । यो मानव सभ्यतामा सबैभन्दा पुरानो रोग हो ।

यसको चर्चा पौराणिक ग्रन्थमा समेत पाइन्छ । मानव जातिमा हजारौं वर्ष पहिले नै यसको संक्रमण फैलिएको वैज्ञानिकहरुको भनाइ छ । तर अहिले कुष्ठरोग सम्बन्धिको पुरातन धारणा फेरिएको छ ।

सुनसरी जिल्ला, देवानगञ्ज गाँउपालिका वडा नम्बर १ निवासी ७२ वर्षीय सत्यनारायण मेहताले आफूलाई कुष्ठरोग लागेको थाहा पाए तब उनलाई जिन्दगी सकियो भन्ने लाग्यो । अब परिवार पराइ होलान्, समाजले तिरस्कार गर्ला भन्ने चिन्ता उनलाई थियो । र यति बेला उनी दयाको पात्र होइन समाजमा उदाहरणीय बनेका छन् । मेहेता यतिबेला आफूसँगै आफ्नो जीवन संगिनी सोवितादेवी मेहेतासँग व्यवसायिक रुपमा कृषि कर्ममा लागे । उनले अहिले कृषि कर्मका कारण आफूहरुलाई उपचार गर्न सहज भएको र व्यवसाय पनि राम्रोसँग फस्टाइरहेको बताए ।

फेयरमेड फाउण्डेशन नेपाल र करुणा फाउण्डेसनको सहयोग र सेभ द अर्थ अन्तर्गत विश्वास परियोजनाको साझेदारीमा ‘विश्वास परियोजना’ मार्फत मेहता दम्पतीलाई कृषि तालिम दिएपछि जीवन थप सुधारिएको मेहताकी जीवन संगिनी सोवितादेवी मेहेताले बताइन् । उनले रोग ठिक हुने विश्वास नभएपनि अहिले आएर रोग बिस्तारै ठिक हुँदै गएको बताइन् ।

परियोजनाअन्तर्गत उपेक्षितउष्ण प्रदेशीय रोगको जोखिम क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता विकास, मातृ शिशु स्याहार सेवा, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण, आय आर्जन सम्बन्धी तालिम तथा सहयोग लगायतका कार्य गरिँदै आएको विश्वास परियोजनाका सुपरभाइजर प्रवेश रिजाल बताउँछन् । परियोजनाका सहयोगमा सत्यनारायण मेहता जस्तै धरैको दैनिकी सहज भएको उनको भनाइ छ ।

आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग नै कुष्ठरोग हो । यो रोग लागेपछि छाला तथा स्नायुलाई असर पार्ने गर्छ ।

यो रोग लागेमा छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी अनुहारको छाला बाक्दलो हुने, गिर्खाहरु देखा पर्ने, स्नायूमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नपाउने हुन्छ ।

साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांसपेशीहरु कमजोर हुने गर्दछ । यो रोग लागेमा कुष्ठरोगलाई चिन्ह र लक्षणको आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम किटाणु भएमा पौसी व्यासिलेरीलमई ६ महिनासम्म र बढी किटाणु भए मल्टिव्यासिलरिलाई १२ महिनासम्म नियमित औषधि खुवाएर पनि औषधि गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =