देशलाई वृद्धाश्रम बन्न दिँदैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । ‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नैपर्छ । र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ,’ उनले भने, ‘यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ । यो संकल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढंगले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ ।’

मन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको उनको जिकिर छ । ‘अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ । विकासको प्रक्रियालाई नयाँ तीव्रतासहित अहिले हामीले भनेका छौँ सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी अत्यन्तै तीव्र बनाउने हो,’ उनले भने, ‘उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौँ । अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए । निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =