भालुवाङ दुर्घटनामा मृतकको संख्या १२ पुग्यो (अपडेट)

काठमाडौं । दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

१७ जना घाइते छन् । मृतकहरूको पहिचान भने खुल्न सकेको छैन । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *