स्काउटकर्मी भन्छन्– स्काउटमा राजनीतिक हस्तक्षेप भयो(भिडिओ)

काठमाडौं । स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल स्काउटले आयोजना गरेको सुझाव संकलन गोष्ठीमा बोल्दै स्काउटकर्मीहरुले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले स्काउटमा राजनीतिक हस्तक्षेप भएमा स्काउटको लक्ष्य प्राप्तिमा अवरोध सिर्जना हुने भन्दै राजनीतिक हस्तक्षेप हुन दिनु नहुने बताए ।

स्काउटको नयाँ नेतृत्व चयन चुनावी प्रक्रियाबाट निष्पक्ष रुपमा हुुनुपर्ने उनीहरुको भनाई छ । गोष्ठीमा बोल्दै स्काउटकर्मी रविना पौडेलले स्काउटमा कुनैपनि राजनीतिक हस्तक्षेप हुनु नहुने धारणा राखिन् ।

उनले स्काउटलाई राजनीतिक सहयोग भने आवश्यक भएको बताइन् । उनले स्काउटको प्रमुख आयुक्त मनोनित गर्ने व्यवस्थामाथि पनि पुनःविचार गर्नुपर्ने बताइन ।

उनले भनिन् – ‘प्रमुख आयुक्त अरुले मनोनित गर्ने भन्दा पनि अलिकति अन्याय हुन्छ कि स्काउटभित्र । कानून विज्ञ, विद्वानहरु समेतको सुझाव लिनुपर्छ यस विषयमा । भोलिको दिनमा हाम्रो जुन मिसन, भिजन छ, युवा जनशक्तिलाई अगाडी लिएर आउने । जुन तरिकाले हामी जान खोज्दैछौँ । त्यसमा कुनै बाधा नपरोस् भोलिका दिनमा । कुनैपनि राजनीतिक हस्तक्षेप हाम्रो स्काउटमा नहोस् । राजनीतिक सहयोग चाहीँ चाहिन्छ । राज्यको अंग बनेका छौँ हामी । हामी सरकार अन्तर्गत चल्छौँ । आज स्काउट यति बलियो छ । सरकारले बजेट दिन्छ । स्काउटको कार्यकारी समितिमा नियुक्त हुँदाखेरी अरुबाट हस्तक्षेप हुन सक्छ । यसमा बिचार गरियोस् । यही कारणले हाम्रो मिसन भिजनमा कुनै अपm्ठ्यारो नआओस् ।’

स्काउटकर्मी तरुणरत्न दत्तले स्काउटको जिल्ला समन्वय समितिको संरचना बनाउनुपर्ने बताए ।

उनले वर्तमान स्काउटको कार्यसमितिको म्याद सकिइसकेको उल्लेख गर्दै नेपाल स्काउट ऐन २०५०(संशोधित) अनुरुप निर्वाचन गर्न नमिल्ने बताए ।

उनले वर्तमान समितिले निर्वाचन गर्न पाउने कि नपाउने भन्ने विषयमा पनि प्रश्नचिन्ह रहेको उल्लेख गर े।
उनले भने – ‘कुन ऐनलाई टेकेर निर्वाचन गर्दैछौँ ? नेपाल स्काउट ऐन २०५० संशोधन ०७५÷११÷१९ मा भएको थियो । यदि यसलाई टेकेर गर्दैछौँ भने यही ऐनलाई आधार मानेर गर्दैछौँ भने यो कार्यसमितिको म्याद ०७६ भदौ १८ गते नै सकिइसकेको छ । ६ महिनाको म्याद हो ऐन जारी भएपछि । यदि नयाँ ऐन आएको छ भने ६ महिनापछि गर्नुस् । यही ऐनलाई मान्ने हो भने ०७५पछिबाट म्याद शुरु हुन्छ । त्यही भएर यो समितिले निर्वाचन गर्न पाउँछ कि पाउँदैन आफैँमा प्रश्न छ ।’

अर्का स्काउटकर्मी सन्तोषकुमार थापाले कुनैपनि बाहानामा स्काउटको आगामी निर्वाचन रोकिनु नहुने बताए ।

उनले एकथरी मानिसहरु निर्वाचन रोक्न लागि परेका भन्दै निर्वाचन हुनैपर्ने बताए ।
उनले स्काउटमा राजनीतिक मान्छे आउनु नहुने पनि बताए । उनले सबै कामहरु ऐनमा टेकेर मात्रै गर्नुपर्ने सुझाव दिए ।

उनले भने– ‘ऐनमै टेकेर निर्वाचन कार्यविधि बनुन् । कुनैपनि बाहानामा चुनाव रोकिनु हुँदैन । चुनाव हुनुपर्छ । एकथरी मान्छेहरु चुनाव बिथोल्ने गतिविधिमा छन् । सबै मान्छेको कुरा सुन्नुपरो तर चुनाव हुनुप¥यो । सबै कुरा ऐनमा टेकेर हुनुपरो । राजनीतिक मान्छे आउनु भएन ।’

स्काउटकर्मी कुमार कोईरालाले स्काउटमा निर्वाचनको खाँचो रहेको बताए । उनले स्काउटमा लामो समयसम्म विवाद भइरहँदा विद्यालय तथा अभिभावकहरुमा समेत नकारात्मक असर परिरहेका बताए ।

स्काउटले चाँडोभन्दा चाँडो निकास पाउनुपर्ने उनले बताए ।

उनले भने– ‘स्काउटमा निर्वाचन खाँचो छ । हामी भुइँतहमा बालबालिका र अभिभावकहरुसँग एकदम सम्पर्कमा रहन्छौँ । लामो समय द्वन्द्व भइरहँदा स्काउट टिममा नकारात्मक प्रभावहरु अहिले स्कुल तथा अभिभावकहरुमा परिरहेकाले यो संस्थाले चाँडोभन्दा चाँडो निकास पाओस् ।’

नेपाल स्काउटमा एकलाई हटाएर अर्को आउने सिलसिलाको अन्त्य गर्न निर्वाचनको विकल्प नभएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =