कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ : सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरूलाई सो पेसामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिए ।
सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताए ।
सभामुख घिमिरेले भने ‘हाम्रा रैथाने प्रजातिहरू खासगरी कृषि क्षेत्रमा के–के हुन ? तिनीहरूलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्त्वहरू के हो ? त्यो तत्त्वहरू उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरूलाई त्यो चिजको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? यो निश्चय पनि राज्यले, त्यसमा पनि कृषि मन्त्रालयले, त्यसको पनि खास विभागले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको लागि कोसिस गर्दाखेरि पनि हामीलाई चाहिएको मात्राबाट प्रगति गर्न सकिरहेको छैन जस्तो मलाई लाग्छ । त्यस्तो बेलामा निजी क्षेत्रबाट एउटा सामूहिक प्रयत्न गरेर विज्ञहरूको विचारलाई लिएर यसको प्रवर्द्धन गर्नका लागि, कृषि क्षेत्रको प्रवर्द्धन कसरी गर्न सकिन्छ ? यसमा लगानी गर्नका लागि वित्तीय स्रोत कसरी सङ्कलन गर्न सकिन्छ ? बैङ्कहरूलाई कसरी प्र
योग गर्न सकिन्छ ? र, यसलाई उत्पादन नहुने ठाउँहरूको माटो परीक्षण गरेर त्यहाँ के उत्पादन गर्न सकिन्छ ? र, अहिले देशमा कृषि क्षेत्र विभिन्न कारणले पछाडि परिरहेको छ । अहिलेका युवाहरू कृषि कार्यमा विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट सहरीकरणबाट प्रभावित भएका छन् । सहरतिर आकर्षित भइरहेका छन् । र कृषि पेसालाई आत्मनिर्भर बनाउने एउटा गौरवशाली पेसा हुनुपर्नेमा त्यो तल्लो दर्जाको पेसा, क्षमता र योग्यता नहुनेले गर्ने पेसा । यो पेसाबाट खास आम्दानी नहुने पेसाको रूपबाट तिरस्कृत भएकोले गर्दा आज हामी खाद्यान्नमा आत्मनिर्भर भएको मुलुक, हिजो सुरुसुरुका दिनमा खाद्यान्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरू त्यसको आम्दानीबाट प्राप्त गर्ने मुलुक आज हामी विदेशीहरूको भर पर्नुपर्ने एउटा निकै प्रतिकुल परिस्थिति आइरहेको छ । अहिले पनि हामी कृषि प्रदान देशका जनताहरू तर हाम्रो कृषि विदेशमाथि निर्भर हुन पुगिरहेको छ । यस्तो बेलामा यो खाद्य बैङ्कले यसका समस्याहरूलाई पहिचान गर्ने र युवाहरूलाई वैज्ञानिक ढंगबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्वपूर्ण कृषि उपजहरूमा पाइने तत्त्वहरूको संरक्षण गर्ने, अझ त्यसलाई मानिसहरूको जीवनका लागि चाहिने तत्त्वहरूको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, त्यो बजारीकरण गर्नका लागि कृषि सहकारीहरूको माध्यमबाट, साना किसानहरूको माध्यमबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठूलाठूलो चक्लाबन्दीका कार्यक्रमहरू ल्याएर कृषिलाई अगाडि लैजाने समेत यसले लक्ष्य राखेको छ ।’
सभामुख घिमिरेले युवाहरूलाई वैज्ञानिक ढंगबाट कृषि पेसामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढुवा दिनुपर्ने बताए ।








