अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ। शोधनान्तर स्थिति बचतमा देखिएको छ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलल ९५ प्रतिशत छ। यस अवधिमा आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ।
यस अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ। त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ। चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
पाँच महिनामा नेपाल सरकारको खर्च रु चार खर्ब ५३ अर्ब र राजस्व परिचालन रु तीन अर्ब ६३ अर्ब ४३ करोड छ। यस अवधिमा विस्तृत मुद्राप्रदाय चार दशमलव प्रतिशतले बढेको छ।
वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव छ प्रतिशत अर्थात् रु दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ। यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात् रु एक खर्ब १० अर्ब ६ करोडले बढेको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ।








