आफ्नो तस्बिर सार्वजनिक भएपछि गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । आफ्नो पहिचान सार्वजनिक गर्ने विरुद्ध गौशाला–२६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।
‘सन्दीपलाई फसाउने युवती’ भन्दै सामाजिक संजालमा तस्बिर सार्वजनिक भएपछि आफ्नो पहिचान खुलाउने प्रयास भएको भन्दै उनी साइबर ब्युरोमा उजुरी दर्ता गर्न पुगेकी हुन् ।
साइबर ब्युरोमा दुई वटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेज, र केही व्यक्तिको नाम उल्लेख गर्दै जाहेरी परेको साइबर ब्युरोका एक अधिकारीले जनाकारी दिए ।
उनका अनुसार यसप्रति साइबर ब्युरोले अनुसन्धान थालिसकेको छ ।
अहिले सामाजिक सञ्जालमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा दिने युवती भन्दै एक युवतीको तस्बिर सार्वजनिक भइरहेको छ ।
उनको इन्टाग्राम पेजबाट पुरानो तस्विर निकालेर उनलाई भाइरल पारिएको हो ।
गौशाला–२६ को तस्बिर बाहिर ल्याएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना एक कार्यकर्तालाई निलम्बन समेत गरेको छ ।








