सर्लाही घटना : सरकारले १० लाख दिने निर्णय गर्‍यो, जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवा नगरपालिका-६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनको शव यो समाचार तयार पार्दा (बिहान १० बजे)सम्म घटनास्थलमै रहेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विवादमा भएको प्रदर्शन भएको थियो । सो प्रदर्शनमा प्रहरीले चलाएको गोली चलाउँदा बरहथवास्थित चोर्निया पुलमा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्ने लगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन । आइतबार अहिले पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदैछ । स्थानीयहरू शुक्रवार दिउँसोदेखि नै मृतकको शव सडकमै रुँगेर बसेका छन् । उनीहरू माग पूरा नहुन्जेल शव उठाउन नदिने भन्दै कठ्याङग्रिदो चिसोमा सडकमै बसिरहेका हुन् ।

सरकारले तीन सदस्यीय छानबिन समिति बनाएर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने र मृतकको परिवारलाई राहत स्वरूप १० लाख दिने निर्णय गरे पनि आन्दोलन रोकिएको छैन । अवस्था थप बिग्रन नदिन बरहथवा बजारमा जिल्लाभरबाट तथा प्रदेशबाट समेत थप मद्दत मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा प्रहरीले पहरा दिएर बसेको छ । गएको असोज ९ गते नगरप्रमुख कटुवालसहितका जनप्रतिनिधिले कार्यपालिका बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको थियो ।

बिचमा यो निर्णय कार्यान्वयन गर्न माग गर्दै काँग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टीले दबाब दिँदै आएका थिए । तर, यही पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णय उल्ट्याउँदै स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय स्थगित गर्ने निर्णय गरेपछि तनाव बढेको हो ।

नगरप्रमुख, उपप्रमुखसहित नेकपा एमालेका कार्यपालिका सदस्य अस्पताल हस्तान्तरण नगर्ने पक्षमा छन् । अस्पताल हस्तान्तरणकै विवादले एक युवकको ज्यान जानुका साथै सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ । गएको शुक्रबारदेखि नै बरहथवा बजार खुल्न सकेको छैन । नयाँरोड-बरहथवा सडकमा यातायात चल्न सकेका छैन । तीन दिनदेखिको बन्दले सर्वसाधारण प्रभावित बनिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *