सूर्यको अध्ययनमा पठाइएको आदित्य एल-वान गन्तव्यमा पुगेको भारतको दाबी

भारतले सूर्यको अवलोकनका लागि पठाएको अन्तरिक्ष मिसन आदित्य-एल वान गन्तव्यमा पुगेको दाबी गरेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर)मा लेख्दै आदित्य एल-वान निर्धारित गन्तव्यमा पुगेको जानकारी दिएका हुन्। प्रधानमन्त्री मोदीकै भनाईलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले पनि आदित्य एल-वान गन्तव्यमा पुगेको उल्लेख गरेका छन्।

यसबारेमा भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले केही खुलाएको छैन।

भारतका प्रधानमन्त्री मोदीले यसलाई सबैभन्दा जटिल अन्तरिक्ष मिशन रहेको  र अहोरात्र खटिएका मुलुकका वैज्ञानिकहरूको अथक प्रयासका कारण मिसन सफल भएको बताएका छन्।

भारतले चन्द्रमाको दक्षिण ध्रुवमा ५ अगस्ट २०२३ को चन्द्रयान-३ को सफल ल्यान्डिङपछि  २ सेप्टेम्बरमा सूर्यको अध्ययनका लागि मिशन आदित्य एल-वान प्रक्ष्येपण गरेको थियो।

आदित्यको संस्कृत अर्थ सूर्य हो। आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर (९ लाख ३० हजार माइल)  टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्ने भनिएको थियो। सोही बिन्दुलाई एल वान भनिएको हो।

इसरोले आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने भनेको थियो। यसमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको थियो।

एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको थियो।

उक्त स्थानमा छोडिने भू-उपग्रहले पाँच वर्षसम्म त्यहाँ रहेर सूर्यको अध्ययनमा सघाउने अपेक्षा भारतको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *