जापान एअरलाइन्सको जेटसँग ठोक्किएको कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु (अपडेट)

टोकियो । जापान एअरलाइन्सको जेटसँग ठोक्किएको कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु भएको छ । टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको जेट ठोक्किएको जापान तट रक्षक निकाय (कोस्ट गार्ड)को विमानमा रहेका पाँचजनाको मृत्यु भएको हो ।
कोस्टगार्ड विमानमा सवार मानिसहरूको मृत्यु पुष्टि गर्दै प्रधानमन्त्री फुमिओ किशिदाले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो ।
कोस्टगार्डको सो विमान सोमबारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ । त्यसअघि जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिन्छ । विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको थियो ।
एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन् । जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किन सफल भएका थिए । उनी गम्भीर घाइते रहेको बताइएको छ ।








