जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायो : पदम गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन् ।

सोमवार कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्ति प्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाए ।

उनले यस्तो ऐन संशोधनमा ल्याउनुआपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो ? भन्दै प्रश्न गरे ।

उनले भने ‘यति धेरै नेपाल ऐन संशोधनको कुरा गरिरहेका छौं । कुनै भाषाको संशोधन होइन । श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुँदै छैनन् । ६४ वटा भन्दा बढी ऐनहरू संशोधन यसभित्र आए । त्यसले पनि गम्भीर र महत्वपूर्ण छ भन्नेकुरा यसले पनि देखाएको छ । कुन मन्त्रालयबाट कुन ऐन संशोधन गर्न लागिएको हो र किन संशोधन आवश्यक भयो भनेर सधन रुपमा छलफल हुनुपर्छ । समिति गम्भीर बन्नुपर्छ । होइन भने जस्केलाबाट ऐनहरू बनाउने र विभिन्न स्वार्थ समूहका आवश्यकता पूरा गर्ने हिसाबले ऐनमा राख्नु उपयुक्त हुँदैन । कुनैपनि मुलुकको राजनीतिक प्रणालीप्रति कुनै समूह असहमत रहेको हिसाबमा हिंसात्मक राजनीतिक गतिविधिमा संलग्न भएर हिंसा मच्याउने कुनैपनि शक्तिलाई शान्तिपूर्ण प्रक्रियामा आउँछु । मुलुकको कानुन र संविधानलाई मान्छु भनेर सरकारसँग सहमति गर्न तयार भयो भने जति नै अपराध गरे पनि उन्मुक्ति दिने र सजाय माफी दिने ऐन ल्याउन खोजिएको छ । यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ । सरकारलाई यो सोच कहाँबाट आयो रु’

उनले केही नेपाल ऐनलाई संशोधनका विषयमा समितिमा कुनै भाषाको संशोधन गर्न लागेको जस्तो गरी छलफल हुन नहुने बताए । उनले केही नेपाल ऐनलाई संशोधनका लागि आएको विधेयकमा श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुन नलागेको बताए ।

उनले यसमा ६४ वटा भन्दा बढी ऐनहरू संशोधन आएको भन्दै गम्भीर रुपमा मन्त्रालयगत छलफल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =