बिना प्रसङ्ग ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरूले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरूले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताए । उनले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरूको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिए ।

उनले देशलाई वायुसेवा निगम चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे । कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिए ।

उनले भने ‘यहाँ वायुसेवा निगमको बारेमा बिना प्रसङ्ग बढी किन कुराहरू उठ्छन् ? के तपाईँहरू नीति निर्माता हो ? जानुहोस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिकेशन गर्नुस् र अनुमति लिएर आउनुहोस् । वायुसेवा निगम राख्ने कि नराख्ने भन्ने यो सरकारको निर्णयको कुरा हुन्छ । यसमा त अझ राष्ट्रिय सहमतिको कुरा हुन्छ । पटक–पटक तपाईँहरू किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? हो त्यो सच्चिनुपर्छ । सुधार्नुपर्छ । विकास गर्नुपर्छ । हामीलाई पनि थाहा छ । तर वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठुलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायुसेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनको निम्ति ग्राउण्ड ह्याण्डलिङ चाहिन्छ । यही नै हो बटम लाइन कुरा । भोलि अर्को निर्णय नभइन्जेल सम्म अन्यथा यहाँहरूले यस विषयमाथि कुरा उठाउनुभयो भने त्यो नेतृत्वमाथि, नीतिमाथिको हस्तक्षेप हुन जान्छ । त्यो सह्य हुँदैन । आजको दिनदेखि यो अन्त्य, पूर्णविराम हुनुपर्छ । यो कुरा नउठाउनका लागि म गम्भीरताका साथ तपाईँहरूलाई निर्देशन गर्छु । अन्यथा यति गरेर पनि तपाईँहरूले उठाउनुभएछ भने त्यो राम्रो हुँदैन भन्नेकुरा तपाईँहरूले बुझ्नुहोला । वायुसेवा निगमको जीवन नै ग्राउण्ड ह्याण्डलिङ छ त । डुब्यो त अब, मैले डुबाएको हो आएर ? कसै एउटा नेतृत्वले आएर डुबाएको हो ? हुनुपर्थ्यो त हामीपनि राम्रो हुनुपर्थ्यो । हुन सकेका छैनौँ । सच्याऊँ । त्यसको पुनः संरचना गरौँ । या विधि, विधानमा के–के समस्याहरू हुन्छन् तिनीहरूलाई सच्याउँला । तर नीति र नेतृत्वभन्दा माथि गएर जब तपाईँहरूले कुरा उठाउनुभयो भने यो राम्रो हुँदैन भन्नेकुरा कडाइका साथ म भन्न चाहन्छु ।’

मन्त्री किराँती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत खनिए । उनले कर्मचारीहरूले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गरे । उनले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरू हिँड्नुपर्ने बताए । उनले कर्मचारीहरूलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न निर्देशन समेत दिए ।

उनले भने ‘नीतिको प्रश्न धेरै उठाउनु भयो । लामो भाषण गर्नुभयो । म त झुक्किएँ पनि, प्रधानमन्त्री पो आएर बोल्नुहुँदो रहेछ । पटक–पटक उहाँलाई हेरेँ । तर उहाँ त प्रधानमन्त्री होइन । नीतिको कुरा प्रधानमन्त्री, मन्त्री नेतृत्वले चिन्ता गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्थाहरु, कर्मचारीहरू हिँड्न सक्नुपर्छ । अन्यथा त्यसलाई अर्को अर्थ लाग्छ । अन्यथा त्यसलाई अनुशासन भनिँदैन । अराजकता भनिन्छ । त्यसकारण नीतिमाथि तपाईँहरूले धेरै चिन्ता नगर्नुस् । राज्यको बनाएको नीतिको बाटोमा इमानदारीपूर्वक अनुशासितपूर्वक देशको राष्ट्रसेवक भएर हिँड्नुस् । यदि राजनीति नै हामीले गर्ने हो भने त सबै कुरा छोडेर हामीजस्तो फिल्डमा आउनुपर्छ । त्यसकारण आफ्नो मर्यादाभित्र हामी बस्नुपर्छ । संगठनको अधिकार, कर्मचारीको हकहितको बारेमा कुरा अर्कै हो । तर नीतिमाथि हस्तक्षेप गर्नेगरी जसले प्रस्तुत हुन्छ, त्यो कर्मचारीको परिधिभित्र प्रश्न उठ्छ । त्यसकारणले आजैबाट यहाँहरुलाई यस्ता क्रियाकलाप बन्द गर्न कडाइका साथ निर्देशन गर्दछु ।’

मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालीन कार्यभार रहेको बताए । उनले यात्रुहरूको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताए ।

त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उनको भनाई छ । उनले न्यूनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताए ।

उनले भने ‘अबको हाम्रो तत्कालीन कार्यभार तीनवटा छ । पहिलो कुरा हाम्रो कार्यभार सुरक्षा हो । सुरक्षाबाहेक हामीले अर्को कुरा सोच्न पनि सक्दैनौँ । हामीले मान्छेको जिन्दगीसँग खेलबाड गर्न सक्दैनौँ । देशको इज्जतबाट हामी तलमाथि हुन पनि सक्दैनौँ । दोस्रो, भर्खरै अडिट सकेपछाडि ईयुले पठाएको १२ बुँदेलाई अक्षरशः कडाइका साथ पालना गर्ने हाम्रो कार्यभार हो । र हामीले हाम्रो देशको लागेको कालोसूची अर्थात् हाम्रो देशमाथि उठेको प्रश्नको जवाफ दिनु हो । तेस्रो, यात्रुमैत्री वातावरण बनाउनु हो । यात्रुमैत्री वातावरण बनाउने, न्यूनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर हाम्रो देशको अनुहार हो एयरपोर्ट । एयरपोर्टमा दाग नदेखाउने गरी हामी लाग्नुपर्छ । आजको हाम्रो पहिलो कार्यभार हो ।’

मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल पीपीपी मोडलमा निर्माण गरिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =