त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उनको भनाई छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताए ।

उनले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडी बढाएको पनि बताए ।

उनले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताए । त्यस्तै दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौरचणको रुपमा परिणत भएको उनले बताए ।

उनले भने– ‘हामीले यति ठूलो एयरपोर्टहरु बनाइसकेका छौँ । ति एयरपोर्टहरु अहिले घाम तापेर बसेको छ । दुर्गम क्षेत्रको पनि २२ वटा एयरपोर्टहरु आज गौचरणको रुपमा परिणत भएको छ । काठमाडौंकै कुरा गर्नुहुन्छ भने अब ८/१० वर्षमा काठमाडौंमा धेरै नै ठूलो असहजता हुनेछ । अहिले नै पनि हामी ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने जुन बाध्यता छ । जतिसुकै काठमाडौंको एयरपोर्टलाई बनाउँदाखेरी पनि यसले परिणाम अबको समय अनुसार दिन सक्दैन । मैले उदाहरणको रुपमा सधैँ भन्दै पनि गरेको छु, ९० वर्षको आमालाई लिपस्टिक, पाउडर लगाइदिएर राम्री बनाउनुजस्तै हो काठमाडौंको एयरपोर्ट अब बनाएर चलाउँछु भन्नुचाहीँ । त्यसकारणले यसको विकल्प हामीले खोज्नैपर्छ । यसको विकल्प भनेको निजगढ नै हो । अब हामी चारैवटा एयरपोर्टलाई निजगढ पनि बनाउने कति वर्षमा बनाउनुपर्ने, बनाएन भने के गर्ने, हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यही बास्केटमा र भैरहवालाई पनि त्यही बास्केटमा लगाएर पीपीपी मोडलमा लाने गरी प्रक्रियाहरु अगाडी बढाउँछौँ । उसरी गर्दा अर्को बहश पनि आउँला त्यसको सामना गरौँला । औचित्य साबित गरौँला । म समिति समक्ष गम्भिरताका साथ के अनुरोध गर्न चाहन्छु भने, अब हामीले पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर हाम्रो गरिबीको अन्त्य गर्ने, हाम्रो सारा अभावको अन्त्य गर्ने, नुन, पानी र रोटीको ग्यारेन्टी गर्ने आजको राष्ट्रवाद हामीलाई चाहिएको छ । हिजोजस्तै जनताहरु रोजगार नपाएर, खान नपाएर मरिरहने राष्ट्रवाद आजको राष्ट्रवाद हुन सक्दैन ।’

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताए ।

उनले सो १२ बुँदा अनुरुप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडी बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =