झलनाथ खनाल भन्छन् : पार्टीमा उमेरहदको सन्दर्भ हराई सक्यो, यसलाई लागू पनि गरिएन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् ।
पार्टीको नवौँ महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो ।
बुधवारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गरे ।
सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरू जन्माउन नसकिएको पनि स्मरण गराए । उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरूको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
खनालले भने ‘अस्तीको छैटौँ केन्द्रीय कमिटी बैठकमा मैले एउटा सानोसानो सर्भे गरेको थिए । तपाईहामी नै ७२ परर्सेन्टनै ६० वर्ष माथिका रहेछौँ । हामी पनि बुढाखाडा हुन अव धेरै रहेनछ । त्यसो हुनाले युवाहरूलाई हामीले व्यापक रुपमा अगाडि ल्याउनु पर्छ भन्ने प्रश्न यो तथ्यांंकले नै बताइहाल्यो । त्यसो हुनाले अव युवाहरूलाई हामीले प्रोत्साहित गर्नुपर्छ । सामान्य रुपमा ४० प्रतिशतसम्म गरौं भन्ने त आइसकेको छ है । त्यो भन्दा पनि अझै बढी गरौँ भन्ने पनि छ । तपाईँहरूका सुझावहरू यसमा पनि आउनुपर्छ । त्यसै गरेर अव यो उमेरहदको कुरा । यो कुरा हामी नवौँ महाधिवेशनतिर राखेका थियौँ ७० वर्ष । उमेरहद चाहिँ राख्यौँ तर त्यो भन्दा तलतिरको नेता चाहिँ जन्माउन सकिएन । यो दुखद कुरा छ । उमेरहद राखेर मात्रै हुन्छ कि हुँदैन ? घाट राखिएर यसबाट छिर्न पाइँदैन भनेर पुग्छ कि पुग्दैन ? त्यसो हुनाले विचारवान युवाहरूको पंक्ति विकास गर्ने कार्यभारलाई त अव पार्टीले प्राथमिकता दिएर जानु पर्ने नै छ । यो महाधिवेशनले पनि युवाहरूलाई व्यापक रुपमा ल्याउनुपर्ने आवश्यकता त यसै पनि छदैछ । अब यो उमेरहदकै कुरा चाहिँ के होला भन्ने बारेमा यसै हेर्दाखेरि यसको सान्दर्भिकता नै देखिँदैन । यसको सन्दर्भ नै हराई सक्यो । यसलाई लागू पनि गरिएन, केही पनि गरिएन । यसमा पनि कमरेडहरूले सुझाव दिनुपर्यो ।’
सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरू पनि घटाउनुपर्ने प्रस्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौती गर्न आवश्यक रहेको उनको तर्क थियो ।








