बालुवाटारमा रिसाए विप्लव !

साँझ पुनः बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । समसामयिक विषयमा छलफल गरिएको बैठक ठोस निष्कर्षमा नपुगी साँझ ६ बजे पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘मोर्चाको ४७ जिल्लामा जिल्ला कमिटी बनेका छन् । ७ प्रदेशमा सन्देश सभा भए, सातै प्रदेशमा कमिटी पनि बने। बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भयो,’ उनले भने, ‘आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भयो । बैठक साँझ ६ बजे पुनः बस्नेछ ।’

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ । सबै जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

रिसाए विप्लव
बैठकमा नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे पनि छलफल भएको थियो । विप्लवले अदालतको पुर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराएको बताइएको छ ।

बालुवाटारबाट बाहिरिँदै विप्लवले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाए । ‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ’, उनले भने, ‘पक्राउ पुर्जीबारे पनि छलफल हुन्छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =