दूध किसानको बक्यौता रकम चैत्रभित्र भुक्तानी हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दूध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताए । उनले कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले भने ‘कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा वितरण गर्न सुरु गरिँदै छ । प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदै छ । दूध किसानहरूको बाँकी बक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन । कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था छैन । खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ ।’
प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।








