युवालाई स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताएका छन् । मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए । ‘कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्दछ । बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु(याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो । यसका लागि सामूहिक प्रयत्नको जरुरी छ । जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूबाट हुन आवश्यक छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरू ताँती लागेर बिदेसिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए । ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी सारा संरचना गाउँमा पुगिसक्यो, गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, गाउँमा सञ्चार, स्वास्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू सम्पूर्ण गाउँमा पुगे, तर सबै चिज पुगिसक्यो, गाउँ रित्तो पनि भइसक्यो,’ उनले भने, ‘त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो । आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासन सत्तामा बस्ने लगायत सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरू ताँती लागेर बिदेसिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।’








