केएमसीमा झिकियो ९ वर्षीया बालिकाको छातीमा जमेको पीप (भिडिओ)

काठमाडौं । मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ ।
यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा आशिषलाल श्रेष्ठले बताए । उनले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताए ।
उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भए पनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए । अप्रेशन गर्दा बिरामीलाई ठीक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गरे ।
बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वासथ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताए । उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए । यसभन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो ।








