जाडोमा देखिने समस्या र समाधानबारे डा.सुमितका केही टिप्स !

काठमाडौं । यति बेला देशैभरि चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भइरहेको छ । यस्तो बेला स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ । चिसो मौसममा धेरै मानिसहरु बिरामी हुन्छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता समस्याहरू जाडो मौसममा धेरै देखिन्छन् । यस्तै दिर्घरोगीहरुलाई पनि थप समस्या सिर्जना हुन्छ । जाडोमा देखिने समस्या र उक्त समस्या समाधान कसरी गर्ने लगायतका विषयमा काठमाडौं मेडिकल कलेजका इन्टरनल मेडिसियन डा.सुमित कुमार यादवसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश …

जाडोमा मानव स्वास्थ्यमा आउने समस्याहरू के–के हुन् ? यी समस्याबाट कसरी बच्ने ?

दीर्घकालीन बिरामीहरू हुनुहुन्छ जस्तै दम सम्बन्धी समस्या सिओपिडि जस्ता रोगहरू बढ्न सक्ने समस्या एकदम बढी हुन्छ । त्यसको लक्षणहरू भनेको सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, कफ आउने, खकार आउने, खकारमा पनि एकदम पहेँलो खालको खकार बढी आउने, त्यो सम्भावना चाहिँ दिर्गकालिन रोगीका लागि बढी हुने गर्दछ । जसलाई दीर्घकालीन रोग छैन, जस्तै बच्चाहरूलाई, युवाहरूलाई, वृद्धाबद्धलाई जाडोले चाँडो नै छुने हुनाले रुघाखोकीहरू बढ्ने, चिसो बढी भएमा टाउको बढी दुख्ने जस्ता रोगहरू आउन सक्ने सम्भावना बढी हुन सक्छ ।

यसबाट बच्नको लागि हामीले बच्चाहरूलाई न्यानो लुगाहरू लगाई राख्न पर्‍यो । उनीहरूको बानिहुन्छ बाहिर जाने खेल्ने, बरन्डामा बाहिर निस्कने, भुईँमा टायलहरू ओच्छाईएको हुन्छ, त्यहाँ तिनीहरूले कियर नै नगरी हिँडिरहेका हुन्छन् । त्यति बेला उनीहरूले चप्पल लगाएका छन् कि छैनन्, मोजाहरू लगाएका छन् कि छैनन् त्यस कुरामा ध्यान दिन पर्‍यो । टोपी लगाएका छन् कि छैनन् कान छोपेको छ कि छैन त्यसमा ध्यान दिनु पर्‍यो । चिसो बाट सकभर बच्न सक्नु पर्‍यो । अर्को भनेको युवाहरू छन् भने चिसोमा धेरै निस्कन भएन, आफ्नो अफिसको काम हुन्छ । कामहरु चाँडै सक्काएर टाइममा घर आउने धेरै बेर सम्म चिसोमा नबस्ने , सके सम्म फ्रिजको खाने कुराहरू नखाने, फ्रिजमा धेरै बेर सम्म खानेकुराहरू नराख्ने र त्यसरी राखेका खानेकुराहरू चिसो बनाएर नखाने जस्तै कोलड्रिङस्हरु हुन्छ त्यसबाट टाढा बस्नु प¥यो । अरुकुराहरु बिहान बिहान हामीले के गर्न सकिन्छ भन्दा तातो पानी खाँदा त्यसमा अदुवाहरू उनीहरू मिसाएर त्यो अनुसार आफ्नो बचाहरुलाई पनि र आफूले पनि दैनिक रुपमा प्रयोग गरेको राम्रो ।

दीर्घकालीन रोगका बिरामीहरू कसरी बच्ने त ?

दीर्घकालीन रोगका बिरामीहरूलाई उनीहरूमा सिओपिडि लगायतका त्यस्तो केही रोग छ भने र अक्सिजन लिई राख्नु भएको छ भने जाडो महिनामा अक्सिजन नछुटाई दिनुहोला, जसरी डाक्टरहरूले भनेको समय जस्तै १६ घण्टा, १८ घण्टा अक्सिजन लगाउने त्यही अनुसार गर्नु होला । अर्को कुरा चिसोबाट जति सकिन्छ टाढा बस्नु पर्‍यो । जुन दमको बिरामीहरूले प्रयोग गरि राख्नु भएको औषधिहरू हुन्छ त्यो नछुटाई नटुटाई दैनिक रुपमा त्यसको प्रयोग गर्नु प¥यो । चिसोबाट टाढा त बस्ने नै हो त्यो सँगै धुवाँ धुलोसँग पनि टाढा बस्नु पर्ने हुन्छ । जाडो महिनामा गाउँ घरहरूमा दाउराहरू बाल्ने दाउराको वरपर बसेर आगो ताप्ने भन्ने हुन्छ । यसले गर्दा दीर्घकालीन रोगीहरू दमका बिरामीहरूलाई झन् बढी समस्या हुन्छ । चाँडो रोगले समात्ने, चाडै सास फेर्न गाह्रो हुने गर्दछ । त्यसैले आगोको नजिक नबस्ने सकेसम्म आफ्नो कोठालाई न्यानो बनाएको राम्रो हुन्छ । कोठामा हिटर बाल्दा कोठामा भेन्टिलेटर छ कि छैन त्यसको व्यवस्था छ कि छैन कहीँबाट हावा पास रहने ठाउँ छ कि छैन हेर्ने । त्यसपछि मात्र हिटरहरू प्रयोग गरेको राम्रो ।

छाला सुख्खा हुने अनि एलर्जी हुने समस्या देखिन्छ कतिपयको । यो किन हुन्छ ?

छाला सुख्खा हुने एलर्जी हुने भनेको हामीहरू तातो खोज्नको लागि हिटरको वरिपरि बस्ने, एसीमा बस्ने सम्भावनाले गर्दा स्किनलाई धेरै नै ड्राई गराउने हुन्छ । त्यो कारणले गर्दा छाला एकदमै सुख्खा हुने हुन्छ । एलर्जी भनेको हामीले जे कुरालाई पनि एलर्जी भन्ने गरेका छौं । जस्तै चिसो भयो चिसोले गर्दा खोकी लाग्यो भने मानिसहरूले एलर्जी भयो भन्ने गरेर गलत तरिकाबाट औषधि सेवन नगरी रहेका हुन्छन् । त्यो कुराहरूमा भने ध्यान दिनु पर्दछ ।

यो मौसममा उच्च रक्तचाप बढ्ने समस्या किन हुन्छ ?

जाडो मौसममा उच्च रक्तचाप बढ्नुको कारण भनेको हाम्रो खानपिनले पनि हुन्छ । भरखरका युवाहरूले भने जाडो मौसममा अल्लि खानपिनमा ध्यान नदिने जे मन लाग्यो खाने, पेय पदार्थहरू रक्सीहरू बढी सेवन गर्ने गर्दछन् । यसले गर्दा पनि रक्तचाप बढ्ने गर्दछ । जाडो महिनामा मानिसहरूले सुपहरू खने गर्दछन् त्यो राम्रो हो तर त्यसमा प्रयोग गरिने तेल, नुन, मसलाहरू बढी प्रयोग गर्नाले पनि उच्च रक्तचाप बढ्ने गर्दछ ।

मर्निङवाकमा जाने चलन पनि छ । यो मौसममा बिहानै बाहिर निस्कन उपयुक्त हुन्छ ?

अहिलेको मौसममा बाहिर निस्कँदा एकदमै ध्यान दिनु पर्दछ । बाहिर निस्कँदा जाडो छेक्ने, टाउको राम्रोसँग छोपिएको कान छोपिएको हुनुपर्‍यो, पन्जाहरू लगाएको हुनु प¥यो न्यानो लुगा लगाएर निस्कनु राम्रो हो । जति हिँड्न सक्यो जति एक्सरसाइज गर्‍यो त्यति नै हाम्रो शरीरलाई राम्रो हो । तर अब मर्निङवाक जाँदै छु पसिना निकाल्नु छ भन्दैमा लुगा नै नलगाई पातलो लुगा लगाएर जानु उपयुक्ति होइन ।

खानपिनको बारेमा के के कुरा उपयुक्त हुन्छ त ?

बिहान उठ्ने बित्तिकै हामीले चिया खान्छौ । त्यसरी बिहान दूध चिया खानु भन्दा पनि पहिला पा निलाई पकाएर पानी मा नै अदुवा, हनि, चिया पत्ति हालेर खादा जाडो मौसममा राम्रो नि हुन्छ र एन्टिअक्सिजन पनि पाइन्छ । त्यसै गरि हाम्रो शरीरमा विभिन्न रोगहरूसँग लड्न सक्ने क्षमता पनि बढाउँदछ । त्यस कारण चिया पिउनु भन्दा यसरी प्रयोग गर्दा राम्रो हुन्छ । कहिले कागती सँगै पनि लिन सकिन्छ यसले गर्दा भिटामिन ‘सी’ पनि पाइने हुन्छ । तातो पानीमा अदुवा कि हनि हालेर पानी सेवन गर्दा धेरै उपयुक्त मानिन्छ । सके सम्म त्यसलाई दुई तिन चोटि लिन पनि मिल्यो बिहान बेलुका लिन नि मिल्यो । खाने कुरामा ध्यान दिनु पर्दा फ्रिजमा राखेको खाने कुराहरू सके सम्म नखाएको राम्रो फलफूलहरू खाँदा फ्रिजमा राखेर चिसो बनाएर नखाने । त्यसले गर्दा खोकी लाग्ने बढी सम्भावना हुने गर्दछ । झोलिलो खानेकुराहरू खाँदा तेल, मसलाहरू कम मात्रामा प्रयोग गरेर मात्र खाने गर्नु पर्दछ ।

अन्तमा यहाँको सुझाव के छ ?

सम्पूर्णमा जाडो मौसममा आफू र आफ्नो परिवारहरूलाई पनि जोगाउनु पर्‍यो । जति पनि हामी स्वास्थ्यमा ध्यान दिन्छौँ त्यति नै स्वास्थ्य राम्रो हुँदै जान्छ । तर हामी कहिले काँहि जाडो हो यसले केही असर गर्दैन भनी स्वास्थ्यमा ध्यान दिँदैनौँ भने जाडोमा चिसोले छिटो समात्ने, ज्वरो आउने, रुघा खोकी लाग्ने गर्दछ, दम बढ्ने, छातीमा असर पर्ने, निमोनिया हुने जस्ता समस्याहरू बढ्ने हुन्छ । त्यसैले सम्पूर्ण नेपाली दाजु भाई दिदिबहिनीहरुलाई स्वास्थ्यमा ध्यान दिनु हुन म सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *