प्रधानमन्त्रीलाई ओलीको प्रश्न : व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए ।

आइतबार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले राज्यको खर्बौँ सम्पत्ति नोक्सान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनी प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरे ।

सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उनले व्यक्तिको फाइँदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने ‘यत्रो एनसेल, खर्वौको सम्पत्ति अर्बमा । त्यो त कति प्रतिशत भन्ने ? यसरी बेच्ने काम गरिन्छ । अव बेचेको कहिले होइन भन्छ सञ्चार मन्त्रालय । फेरि हो भन्छ–सञ्चार मन्त्रालय । के हो त्यो ? अर्कोको हो भन्छ, फेरि अर्काले होइन भन्छ । यस्तो खालको हुनु भएन । यो राज्यको सम्पत्ति केही व्यक्तिको फाइँदाका लागि केही व्यक्तिले फाइदा लिएर राज्यको सम्पत्ति डुबाउने खालका यस्ता कामहरु रोकिनु पर्छ । यस्ता थुप्रै समस्याहरू छन् । जो संसदीय समितिहरूमा पनि छलफल, विमर्श भइराखेको छ । सार्वजनिक ढंगले पनि विमर्श भइराखेका छन् । यस्ता कुराहरूतर्फ एउटा विधिको शासन, थितिको शासन र लोकलाज त राखेर काम गर्नुप¥यो नि सरकारले । सरकारको यो बेथिति, अरु अनेक कुराहरूमा । अब त कस्तो भयो भने तपाईँहरूको सरकारले यस्तो बेथिति गरेछ नि भन्दा त्यो बेथिति ग¥यो भन्ने व्यापारीलाई त केपी ओली पनि चिन्नुभएको छ नि भनियो । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन ? चिन्छ नि त । अनि व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ? त्यसकारण यस्ता खालको असान्दर्भिक कुराहरू गरेर ध्यान अर्कातिर मोडेर पाइन्न ।’

अध्यक्ष ओलीले डेडिकेटेड लाइनबाट विद्युत् उपयोग नगरेका उद्योगीहरूको विद्युत् काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराए । मुलुकमा उद्योगी, व्यवसायीहरू मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत् खपत नगरेका उद्योगीहरूको पनि विद्युत् लाइन काट्ने काम गर्न नहुने उनले बताए ।

अध्यक्ष ओलीले संवादको माध्यमबाट डेडिकेटेड लाइन लिएका उद्योगीहरूको समस्या समाधान गर्न पनि सरकारलाई सुझाव दिए ।

अध्यक्ष ओलीले भने ‘अहिले भर्खर पनि डेडिकेटेड लाइन सम्बन्धी कुरा चलिराखेको छ । डेडिकेटेड लाइन उद्यमी व्यवसायीहरूको छ । पुरानो कुरा, बिल नभएको कुरा । बिल नभएको कुरा सरकार असुल गर्न खोज्दैछ भन्ने कुरा आएको छ । विल नभएको कुरा सरकारले कसरी असुल गर्ने रु डेडिकेटेड लाइन त जोड्यो । तर, लाइन जोडेर त विद्युत् खपत त हुँदैन नि । त्यसकारण लाइन जोड्दैमा यो सरकारले बुझ्न के प¥यो भने डेडिकेटेड लाइन, ट्रंक लाइन विद्युत् आपूर्ति गरिएको छ भने आपूर्ति गरेपछि विद्युतको महसुल लिनुस् । यदि लाइन जोडेको छ तर लाइन चाहिँ दिएको छैन भने अनि के को पैसा उठाउनु हुन्छ ? त्यसकारण त्यस खालको अभ्यास नगर्नुस् । अर्को उद्योगहरू, उद्यमी, व्यवसायीहरू तड्पिरहेका छन् । कराइरहेका छन् अहिले । यस्तो अवस्थामा आफैँ उद्योगहरू बन्दै हुँदैछन् । झन् लाइन काटेर उद्योगहरू बन्द गरिदिने अनि सम्बन्धलाई संवादमार्फत टुंग्याउने आईएलओको सिद्धान्तअनुसार पनि सम्बन्धहरूलाई सरकार पक्ष आईएलओको सिद्धान्तअनुसार सरकार पक्ष लगानी दिने, श्रम दिने र श्रमिकका बीचमा विभिन्न समस्या समाधान गरेजस्तै यसमा पनि यसमा पनि लिने, दिनेका बीचमा, कम्पनीहरूको बीचमा संवाद गर्न नसकिने हुन्छ र । उहाँहरूका पनि सङ्गठनहरू छन् । सरकारका पनि निकायहरु होलान् । त्यो भन्दामाथि सरकार होला, सम्बन्धित निकायहरु होलान् । यिनका बीचमा बसेर तथ्य प्रमाणका आधारमा खपत गरेको विद्युतको महसुल लिने, खपत गरेको छैन भने नलिने । जहिलेदेखि लोडसेडिङ समाप्त भयो । त्यसको लिने । जहिलेदेखि थियो । सम्झौता भएको थियो । सम्झौता एकातिर छ । सरकारले अर्कातिर पैसा छैन भनेर बुलडोजिङ गर्न मिल्दैन ।’

अध्यक्ष ओलीले तथ्य र प्रमाणको आधारमा मात्रै डेडिकेटेड लाइन लिएका उद्योगीहरूबाट विद्युत् महसुल लिन पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =