देशभरका उच्च अदालतहरूमा स्वचालित पेसी प्रणाली सुरु

काठमाडौं । देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गरे ।
यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।
प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।
प्रधानन्यायाधीश श्रेष्ठले अब जिल्ला अदालतहरुमा पनि स्वचालित पेशी तारेख व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्न लागेको सुनाए । यसका लागि अध्ययन सुरु गर्ने उनले बताए ।
साथै उनले सर्वोच्च अदालतले अनलाइनमार्फत नै मुद्दा दर्ताको व्यवस्था गर्ने समेत बताए । ‘दिन म तोक्न सक्दैन, निकट भविश्यमा सर्वोच्चमा अनलाइन रजिस्ट्रेसनको सिस्टम बसाल्छौं’ यसका लागि भइरहेको अध्ययन अन्तिम चरणमा रहेको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘आफ्नो फर्मबाट नै रजिस्ट्रेसन गर्न सकिने शुभारम्भ गर्न पाउँछु होला ।’
तारेख लिन पनि अदालतमा आइरहनु नपर्ने प्रविधि हुन्छ कि भनेर पनि अध्ययन भइरहेको उनले बताए । हालै भएको भारतमा भ्रमणमा गएको बेला त्यहाँका प्रधानन्यायाधीशले संवैधानिक इजलासमा बस्ने अवसर दिएको भन्दै उनले भने, ‘त्यो सबै प्रसारण हुँदोरहेछ । हाम्रो इजलास पनि किन बन्द राख्ने ? खोलौं न । यसले हाम्रो अदालतको गुणस्तर बढ्छ कि भनेर मैले अध्ययन गराउन खोज्दैछु ।’ संवैधानिक इजलासलाई मात्र यस्तो गर्न सकिन्छ कि भनेर सोचेको उनले बताए ।








