अब प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्न : गगन थापा

भन्छन्– प्रधानमन्त्रीलाई डुल्ने रोग लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट हालेर बनाएको सरकारलाई अब कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका छन् ।

उदयपुरको कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नै एक वर्षमा काम गर्न नसकिएको बताउँदै आएको भन्दै कांग्रेसले पनि कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका हुन् ।

‘हामीले मत हालेर सरकार बनाएको एक वर्ष भयो । एक वर्ष पुगेको दिन यो गर्छु भनेर मात्रै अब प्रधानमन्त्रीले धर पाउनुहुँदैन । कांग्रेसले प्रधानमन्त्रीलाई भन्ने बेला आएको छ, एक वर्षमा काम भएन भनेर अब कुर्नलाई सम्भव छैन,’ थापाले भने, ‘अब प्रधानमन्त्रीले पुस १० मा भन्नुपर्छ, माघ १० गते एक महिनासम्म एउटा पनि कार्यक्रममा जान्नँ, भाषण गर्दिनँ बिहानदेखि बेलुकासम्म सिंहदबारमा बस्छु, भन्नुपर्छ । प्रधानमन्त्री डुल्दै हिँड्दा मन्त्री डुल्ने भए । यो रोग प्रदेशमा पनि सर्‍यो । त्यसैले अब बोल्ने होइन, परिणाम दिने प्रधानमन्त्री चाहिन्छ ।’

कांग्रेसले मत दिएर बनाएको प्रधानमन्त्रीलाई अब यत्तिकै कमजोर भएर चल्ने छुट नभएको पनि थापाले बताए । अबको परिस्थिति सम्हाल्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

‘संघीयताको सन्दर्भमा प्रश्न उठेको छ । हिजो १४ अञ्चल र ७५ जिल्ला भन्दा अहिले प्रदेशमा धेरै खर्च भयो भन्ने प्रश्न उठेको छ । ७५ जिल्ला १४ अञ्चलभन्दा कम खर्चमा ७ प्रदेश र देशभरका पालिकाको प्रशासनिक खर्च धान्न सकिन्छ,’ थापाले भने ।

थापाले मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग नेताले नै गरेको आरोप थापाले लगाए ।

‘हिजो पनि हामीले सानो पार्टीका रूपमा सूर्यबहादुरलाई बोकेका होइनौं ? मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग गरेर नेताको खल्तीबाट नेताको सूची निकाल्ने क्रम अझै रोकिएको छैन,’ थापाले भने, ‘नेताको खल्तीबाट आफ्नो प्रियजनलाई जिम्मेवारी दिने क्रमलाई सच्याउनुपर्छ, गर्न सकिन्छ, देश र जनताको बीचमा उभिएर संकल्प गर्नुपर्छ ।’

भ्रष्टाचारबाट जनता रिसाएको भन्दै थापाले जोसुकै भए पनि दण्ड दिनुपर्ने बताए ।

‘भ्रष्टाचारको कारण जनता रिसाएका छन्, जोसुकै भए पनि दण्ड दिनुपर्छ । ०४६ पछि बनेका प्रधानमन्त्री, मन्त्री, सेनापति, प्रहरीका आईजीपी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । २० वर्षपछि भए पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ,’ थापाले भने, ‘हामीसँग चार वर्षको समय छ । चार वर्षमा हामीले बनाएका कानूनले नागरिकलाई छोएको देखाउन सक्नुपर्छ ।’

ठूला नेताको उपचारको जिम्मा राज्यले लिएजस्तै नागरिकको उपचारको जिम्मा पनि राज्यले लिने कानूनलाई बलियो बनाएर जानुपर्ने पनि थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =