राष्ट्रिय बालबालिका नीतिले फरक क्षमता भएका बालबालिकाहरूको बाटो खुल्यो : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बिहीबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय बालबालिका नीति, २०७९ ले बालबालिकाको हक हितको सुरक्षा हुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फरक क्षमता भएका बालबालिकाहरू र अन्य बालबालिकाको हक, पठनपाठन, स्वास्थ्य शिक्षाका लागि मन्त्रालयले कार्यक्रम अघि बढाउने बाटो खोलेको बताए । उनले देशमा कुना कन्दरामा अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको क्षमतालाई उजागर गर्न सक्नुपर्ने बताए ।
उनले शरीरको एउटा अंगबाट दर्शक केसीले लेखेको पुस्तक दर्शनलाई विश्व कीर्तिमानका रुपमा पनि अघि बढाउनुपर्ने बताए । उनले सम्मानका लागि मन्त्रालयमा कार्यक्रम राख्ने पनि बताए ।
उनले भने ‘हाम्रो देशमा कुना कन्दरामा अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूमा पनि त्यस किसिमको क्षमता होला, त्यस्तो क्षमता भएका व्यक्तिहरूलाई पनि हामीले उजागर गर्नुपर्छ, साथ सहयोग दिनुपर्छ । आज जुन दर्शक केसी भाइले शरीरको एउटा अंगबाट लेखिएको कवितालाई वास्तवमा विश्व कीर्तिमानका रुपमा पनि अघि बढाउनु पर्छ र दर्शन केसी भाइलाई सम्मान गर्न चाहन्छु र विशेष किसिमको कार्यक्रम राखी सम्मानित गर्न सल्लाह र सुझाव लिनेछु । हाम्रा बालबालिका, अनाथ, अपाङ्गता भएका बालबालिकाका विषयमा हामीसँग नीति र नियमका अभावले गर्न मिलिरहेको थिएन । ६ वर्षदेखि बालबालिका नीति भनेर मन्त्रालयमा अड्किरहेको रहेछ । म आएपछि मैले त्यसलाई अघि बढाएको छु । हिजोको क्याबिनेटबाट मात्रै पास भएको छ । अब मलाई लाग्छ, हाम्रा फरक क्षमता भएका बालबालिकाहरू र अन्य बालबालिकाको हक, पठनपाठन, स्वास्थ्य शिक्षाका लागि मन्त्रालयले कार्यक्रम अघि बढाउनेछ ।’
मन्त्री आचार्यले अनाथ, अपाङ्गता भएका बालबालिकाका विषयमा कानुन नहुँदा काम गर्न समस्या रहेको बताए ।








