मह भिरमा साहसिक रक क्लाइम्बिङ (तस्बिरहरू)

सोलु । साहसिक खेल मध्यको एक रक क्लाइम्बिङ अब सोलुखुम्बुको माप्य दूधकोशीमा पर्ने मह भिरमा गर्न पाइने भएको छ । गत हप्ता मात्र माप्य दुधकोशी गाउँपालिकाको वडा न ५ रोकामा पर्ने मह भिरमा रक क्लाइम्बिङको उद्घाटन गरिएको हो ।

रक क्लाइम्बिङ सेन्टरको विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरेका हुन् । माप्य दुधकोशी र ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपालको सहकार्य र माउन्टेन गाइड एसोसिएसन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो ।

उक्त भिर १२० मिटर अग्लो रहेको छ । माप्य दूधकोशी र माउन्टेन गाइड एसोसिएसन अफ नेपालको सहकार्यमा उक्त रक क्लाइम्बिङ सेन्टरमा विभिन्न वडाहरूबाट गरी १२ जना स्थानीय युवाहरूलाई रक क्लाइम्बिङको आधारभूत तालिम पनि दिइएको छ ।

पूर्ण तालिमका लागि दुई महिना लाग्ने भएकाले अहिलेलाई आधारभूत तालिम मात्र दिइएको माउन्टेन गाइड एसोसिएसन नेपालका अध्यक्ष सञ्जीव गुरुङले जानकारी दिए ।

मह भिरको भविष्य निकै राम्रो रहेको ट्रेकिङ्ग एजेन्सी एसोसिएसन नेपाल का अध्यक्ष नीलहरि बास्तोलाले बताए । उनले सोलुखुम्बुको पर्यटनमा मह भिरको रक क्लाइम्बिङ सेन्टर थप टेवा पुराउने बताए । खतराबाट बच्न र क्लाइम्बिङ गर्नेहरूबाट उद्धारमा समेत सहयोग पुग्ने यो तालिम आफ्नो गाउँपालिकामा गराउने अवसर पाएकोमा माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई निकै खुसी छन् ।

माप्यमै रक क्लाइम्बिङ सेन्टर खोलेर स्वदेशी मात्र नभै बिदेसी रक क्लाइम्बरहरूलाई ल्याएर खेलाउन सकिने उनले बताए । ‘माप्य दूध कोशीलाई  स्पोर्ट्स हब को रुपमा लग्दै जाने क्रममा हामीले मह भिरमा रक क्लाइम्बिङ सेन्टर स्थापना गरेका छौं,’ ‘उनले भने, ‘यससँगै भलिबल मैदान, जिपलाइन, अरु अन्य खेलका गतिविधि गर्नको लागि अध्ययन गर्दै छौं ।’

सगरमाथा क्षेत्रमा जोडिने सडक खण्डको छेउमै मह भिर भएकाले व्यापारिक प्रवर्द्धन हुने भएपछि माप्य दूधकोशी गाउँपालिका स्थानीहरू निकै हर्षित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *