बारुदी सुरुङमार्फत स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्छ : पार्वत गुरुङ

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बारुदी सुरुङ प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्ने बताएका छन् ।

विभिन्न व्यक्ति तथा स्वार्थ समूहहरूले अहिले पनि आफ्नो निजी स्वार्थ पूर्तिका लागि बारुदी सुरुङ प्रयोग गरिरहेको उल्लेख गर्दै उनले त्यसको अन्त्य गर्न सरकार र सबै राजनीतिक दलहरूलाई सचेत गराए ।

बुधवार काठमाडौंमा आयोजित ‘सङ्क्रमणकालीन न्यायमा बारुदी सुरुङ र विस्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता गुरुङले बारुदी सुरुङ प्रयोगको जस÷अपजस माओवादीले लिनुपर्ने बताए ।

उनले आफूले निर्वाचनको बेला ठाउँठाउँमा बारुदी सुरुङको सामना गर्नु परेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताए । मुलुक शान्ति प्रक्रियामा आएपनि त्यसको प्रयोग अझै पनि नेपाली समाजमा भइरहेकाले अन्त्यका लागि सबै सचेत रहनुपर्ने उनको भनाई थियो ।

नेता गुरुङले भने ‘अहिले पनि मलाई के लाग्दैन भने कुनै पनि राजनीतिक दलहरूले, कुनै पनि संघ, संस्थाले, कुनै पनि विद्रोही समूहले अहिले पनि के गर्छन् भने आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नको निम्ति यस्तो किसिमको एउटा बारुदी सुरुङलाई प्रयोग गरेको पाइन्छ । त्यसैले तपाई हामीले यस कुरालाई कसरी हेर्ने ? यसको औचित्य छ कि छैन भन्दाखेरि त यसको औचित्य त अझै बाँकी छ नि त । द्वन्द्व समाप्त भयो, शान्ति सम्झौता भयो । अब केही बाँकी छैन होइन कि अहिले पनि व्यक्तिहरूले, व्यक्ति समूहहरूले यो बारुदी सुरुङलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि रोक्नुपर्छ भन्ने कुरामा हामी सचेत रहौँ । यसको म धेरै घटना बताउन सक्छु । तर पनि म सांसद लड्दै गर्दा वैद्य माओवादीले बहिष्कार ग¥यो । तर, प्रत्येक कार्यक्रममा म पुग्दाखेरि त्यो ठाउँमा शङ्कास्पद वस्तु भेट्ने, बाटोमा एम्बुस हुने र त्यो परिस्थिति अन्त्य भएन नि । त्यसैले मैले के बुझे भने आज माओवादीलाई हामीले हेर्ने दृष्टिकोण के रह्यो भने माओवादीलाई देखाउँदै अरुले पनि यो काम गरेको हो कि ? यसको प्रेरणाको जग र यसको फाउन्डेसन त माओवादी हो नै । उहाँहरुले त्यसलाई जतिसुकै चिरफार गरेपनि त्यो अन्त्य त हुँदैन । त्यसको जस, अपजसको श्रेय त माओवादीले लिनैपर्छ । तर अहिले पनि माओवादीलाई देखाउँदै त्यो खालको त्यो खालको बारुदी सुरुङको प्रयोग गर्ने परिस्थितिहरू छन् । त्यसप्रति हामी सचेत र त्यसलाई पनि हामीले अन्त्य गर्नुपर्छ भन्ने कुरामा यो कार्यक्रममा राख्न चाहन्छु । र, हामी हामीले भण्डारण गरेको कुरा मात्रै होइन, माओवादीलाई दोष दिने काम मात्रै गरेर होइन, यी कुराहरूलाई पनि हामीले बुझ्नुपर्छ । यसको प्रेरणाको स्रोत माओवादी हो भन्ने कुरामा हामी सबै प्रष्ट छौं ।’

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले बारुदी सुरुङलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन २०७४ मा नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरे । रोल्पामा हालै बारुदी सुरुङका कारण मानिसहरूको ज्यान गएको घटनाको उदाहरण दिँदै उनले त्यसलाई सम्पूर्ण रुपमा हटाउने कुरामा सबैले जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

बारुदी सुरुङ मानव निर्मित विपद् भएकाले यसबाट हुने जोखिमको अन्त्य गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उपमहासचिव तुलाधरले बताए ।

उनले भने ‘हामीले ऐन बनायौँ । त्यो ऐनको नाम विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन २०७४ भनेर बनायौँ । त्यो ऐनले ३५ किसिमका विपदहरुलाई त्यसले सूचिकृत गरेको छ । तर त्यसमा बारुदी सुरुङ छैन । त्यो बारुदी सुरुङ नपरेको कारण विभिन्न होला । तर यसले मान्छे मार्दो रहेछ भन्ने कुरा, त्यसको जगजगी अझै पनि रोल्पामा छ भन्ने खालको कुराले के पुष्टि गरेको छ भने यो विपद् हो । अभियन्ताहरूले अभियान चलाइराख्नु भएको होला । तर कयौं ठाउँहरूमा पुरेको तर त्यो ठाउँ बिर्सिएको पनि हुन सक्दछ । त्यो नियतबस नभए पनि त्यस्तो बिर्सिएका ठाउँहरूमा कुनै बस्तुको चाप पर्ने बित्तिकै अथवा बस्तुभाउको चाप, बच्चाबच्चीहरु खेल्दै जाँदाखेरीको चाप, मान्छेहरूले हिँडदाखेरीको चाप, आर्मी, पुलिसहरूले हिँड्दाखेरीको चाप आदिआदि कारणले गर्दाखेरि फेरि पनि ती विस्फोट हुन्छन् । र, ती विस्फोटन हुने बित्तिकै मान्छेहरू मर्दा रहेछन् भन्ने कुरा त देखियो । त्यस कारण यसको टोटल इलिमेशनमा जोड दिनुपर्दछ हामीले । यसलाई पूरै हटाउने कुरा कहिले सम्भव छ, कसरी सम्भव छ ? यसको लागि के साधन, स्रोतहरूको जरुरी छ ? यस्ता विपद्बाट मान्छेहरू मर्नुहुँदैन ।’

उपमहासचिव तुलाधरले द्वन्द्वकालमा बिछ्याइएका विस्फोटक पदार्थहरूको खोजी गरी त्यसको नष्ट गर्न ढिलाइ गर्न नहुने पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =