नेपाली सेनाभित्र जन्ममितिमा विवाद छैन : प्रभुराम शर्मा

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सेनाभित्रका व्यक्तिहरूको जन्ममितिमा विवाद झिकिदिएका बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले नेपाली सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन् ।
नेपाली सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताएका हुन् । उनले आफूहरूले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विवाद नदेखिएको स्पष्ट पारेका हुन् ।
उनले सेनालाई गिराउन खोज्ने तत्त्वले अनावश्यक विवाद निकालेका बताए । उनले कागजात सही हुँदाहुँदै पनि उपरथी पाण्डेले विवादमा परेपछि आफूसँगको सल्लाहमा नै राजीनामा दिएको उल्लेख गरे ।
उनले भने ‘एउटा तत्व छ नेपाली सेनालाई कमजोर बनाउने, अरूको अगाडी गिराउन खोज्ने यो गिरोहको काम हो । विवाद मात्रै ल्याएर हुँदैन । ती विवाद ल्याउनेलाई कारबाही गर्ने कानुन हुनुप¥यो । जे पनि बोल्न पाइने । जे पनि भन्न पाइने । उनीहरूलाई कसैले केही कारबाही नहुने भएपछि त जे पनि भन्दिन्छन् नि । यी पनि जसले यो कुरा ल्यायो, जसले नेपाली सेनालाई बर्बाद गर्नेतिर लाग्यो तिनलाई पनि कारबाही गर्ने कानुन हुनुप¥यो । नेपाली सेनाले कहिल्यै पनि गलत कामलाई ठिक भन्दैन । पत्याउँदैन ।’
प्रधान सेनापति शर्माले विवाद ल्याउनेहरू गलत भएमा कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताए । जसलाई जे मन लागेपनि बोल्न पाइने भएकाले यस्ता विवादहरू निकालिने गरेको उनको भनाई छ ।








