योगेश भन्छन्- एमालेले अब मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताए ।
सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरूले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रूपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रुपमा अघि बढाउने योजना रहेको पनि बताए । मध्य पहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यावहारिक ज्ञान प्राप्त भएको उनकाे भनाइ छ ।
सचिव भट्टराईले भने, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौं । यो एउटा थेसिस बनायौं, अब यसलाई काठमाडौंमा बसेर संश्लेषण गर्छौं, विश्लेषण गर्छौं । र यसलाई एउटा डकुमेन्टेसन गर्छौं । र, यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ। यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौं । योजना आयोगलाई दिन्छौं । अरूलाई पनि दिन्छौं । एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौं । हाम्रो पार्टी नीति अध्ययन प्रतिष्ठान छ, त्यसमा बसेर हामी गृहकार्य गर्छौं ।’
उनले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरे ।








