दलित ‘अनमी’लाई गाउँ निकाला ! के हो वास्तविकता ?

काठमाडौं । सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा समाचार र तस्बिर भाइरल बन्यो । उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो ।
तस्बिरको क्याप्सनमा लेखिएको थियो ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे ।’
जातीय छुवाछुतसम्बन्धी यो तस्बिरबारे बुझ्न विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन् ।
‘गाउँलेहरूले मैले छोएको औषधि नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन्, ‘तर, केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेका हुन् । यो कुरा एक–दुई महिना पहिलेकै हो ।’
उनले थपिन्, ‘मुगुमा आएपछि स्वास्थ्य चौकीनजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेकी थिएँ। मैले कहीँ–कतै मिडियामा यस्तो कुरा गरेकी थिइनँ । अहिले आएर कसले कसरी भाइरल ग¥यो थाहा भएन । मेरो घर दाङको तुल्सीपुर हो । म मुगु आएको एक वर्ष भयो । ’
सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आफू सोरु गाउँपालिका– ९ खनायाँगाउँ पुगेको र मंगलबार बिहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, राजनीतिक दल तथा पीडित महिलासहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताए ।
उनका अनुसार छलफलमा पीडित भनिएकी विश्वकर्माले आफूलाई त्यस्तो कुनै दबाब नभएको, बरु साँझ केटाहरूले जिस्क्याउने गरेको बताइन् ।
उनले यति दिन बस्दा केही नभनेका घरबेटीले अहिले आएर कोठा छोड्न दबाब दिएपछि आफू दलित भएकै कारण यो दबाब बढेको हो कि भन्ने लागेको सुनाइन् ।
तुल्साका घरबेटी स्वास्थ्य चौकी खनायाँका इन्चार्ज सुरज शाही हुन् । उनले दलित भएकी कारण उनलाई कोठा छोड्न दबाब नदिएको दाबी गरे । उनले भने, ‘तुल्सा आफ्नै स्टाफ हुन् । उनलाई आफैँले आफ्नो घरको कोठा भाडामा दिएको हुँ । उनी कुन जातिको हो मलाई थाहा नहुने हुन्छ र ?’
उनले आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा तुल्सालाई कोठा खाली गर्न भनेको बताए । उनी यसरी झुटो हल्ला फैलिँदा आफू छक्क परेको बताउँछन् ।
गाउँमा कोठा भाडामा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढीमा बस्दै आएकी छिन् । गमगढीबाट स्वास्थ्य चौकी खनायाँ पुग्न गाडीमा चार घन्टा लाग्छ । अझ भनेको वेला गाडी पाउन मुस्किल पर्छ ।
उपाध्यक्ष शाहीले तुल्सालाई गाउँमै बस्ने व्यवस्था मिलाउने बताए । पत्रकार सम्मेलनपछि प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी वीरेन्द्र थापाले निवेदन आए कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।








