गाईभैँसीको नाकमा डोरी बाँध्ने निर्दयी व्यवहारप्रति सरोकारवालाहरूले चिन्ता

सुदूरपश्चिम । नेपालमा पशु कल्याणको अवस्था नाजुक रहेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सोमबार आयोजित ‘डेरी पशुका लागि पशुकल्याण मापदण्ड कार्यान्वयन’ सम्बन्धी छलफलमा उनीहरूले पशुप्रति गरिने निर्दयी व्यवहारमा अझै सुधार आउन नसकेको बताए ।
पशु रोग अन्वेषण प्रयोगशालाका चिकित्सक डा. नरेश जोशीले पशुको नाकमा डोरी बाँध्ने, हलचल हुन नपाउने गरी पुच्छर बाँध्ने, घाउ चोट लाग्ने गरी हिर्काउने, मोटरसाइकलमा कुखुरा झुन्ड्याएर लैजानेजस्ता निर्दयी व्यवहार हुने गरेको बताए ।
‘जनचेतनाको अभावमा नेपालमा पशुकल्याणको अवस्था नाजुक छ,’ उनले भने, ‘कुखुरालाई निर्दयी व्यवहार गरेर ढुवानी गरिसकेपछि वध गरेर उपभोग गरिने मासु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।’
मन्त्रालयका सचिव डा. मदनसिंह धामीले पशुकल्याणका लागि प्रदेश सरकारले पालिका तहसँगको समन्वयमा प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको जानकारी दिए । पालिकासँग मिलेर छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उनले यसका लागि चालु आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरिएको छ भने ।
पशु कल्याणका क्षेत्रमा कार्यरत ‘स्नेहाज केयर’की यमुनाकुमारी थापाले पशुकल्याणका लागि ऐन बनाएर पशुको हितमा काम गर्नुपर्ने सुझाब दिए । विगतमा उनकै नेतृत्वमा सुदूरपश्चिममा छाडा पशुचौपायाको कल्याणको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिएकोे थियो ।
दीपायलस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पानसिंह ठगुन्ना, नेपाल पत्रकार महासङ्घ, कैलालीशाखा अध्यक्ष हिमाल जोशीलगायतले पनि पशु कल्याणका विविध विषयमा चर्चा गरेका थिए ।
मुलुकी ऐन अपराध संहिताबमोजिम कतिपय ठाउँका पशुक्वारेन्टिइनबाट मापदण्डअनुसार पशुचौपायाप्रति व्यवहार नगर्नेलाई कारबाहीसमेत गर्ने गरिए पनि यस्तो दुर्व्यवहार पूर्णरुपमा नरोकिएको पाइएको छ ।
पछिल्ला वर्षमा घरमा पालिएको गाईले दूध दिन छाडेपछि त्यसै छाडा छोडिदिने प्रवृत्ति बढ्दो छ । छाडा छोडिने गाईलगायत पशुचौपायाको व्यवस्थापन गर्ने क्रममा पनि पशुप्रति निर्दयी व्यवहार हुने गरेको छ । कतिपय ठाउँमा खुलाचौर अथवा वन क्षेत्रमा काँटे तारले घेराबार गरी बनाइएको खोरभित्र छाडा पशुचौपाय हुल्ने र खोरमा पर्याप्त दाना, पानी र घाँसको व्यवस्थापन नगर्ने गरेको देखिन्छ ।
छाडा छोडिने पशुले अन्नबालीमा पुर्याउने क्षतिबाट किसानले हैरानी खेप्नुपरेको मात्र नभई सडक गल्लीमा पशुचौपायाका बास हुँदा दुर्घटनाको जोखिम एकातिर छभने अर्कोतर्फ छाडा छोडिने पशुप्रति निर्दयी व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ । अधिकांश वन क्षेत्र सामुदायिक वनमा परिणत भएपछि चौपायाका लागि चरिचरनको अभाव सिर्जना हुँदा छाडा पशुचौपायाको व्यवस्थापनको काममा चुनौतीपूर्ण बन्दै गएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले बनाएको ‘व्यावसायिक फार्मले अवलम्बन गर्नुपर्ने गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड २०८०’मा गाईभैँसी कल्याणका लागि गर्नुपर्ने काम समेटिएको छ ।
सामुदायिक छाडा तथा बेवारिसे पशुको व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश सरकारले ‘सामुदायिक छाडा पशु कल्याण प्रवर्धन गर्न गौशाला निर्माण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ पनि बनाइएको छ ।








