रामकलेवा विधि सम्पन्न भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडौँ । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाई लगायतका परिकार खुवाउने परम्परा रहेको छ ।

जसलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ । राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको हो ।

रामकलेवाका राम लक्ष्मणसहित चारै भाइको प्रतीकको रुपमा रहेका बालकलाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडुवामा बसाएर भोजन गराइएको थियो ।

राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई भोजन गराइएको थियो । रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरूले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघ्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए ।

चारै भाइका साथै अयोध्याबाट आएका जन्तीहरूलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरूले मैथिली परम्पराअनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए ।

सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई रोमाञ्चक बनाएको थियो । आइतबार राति वैदिक परम्पराअनुसार प्रतिकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ ।

जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ५६ प्रकारका व्यञ्जनसहित भोजन ग्रहण गराई दक्षिणा दिएर बिदाइ गरिएको छ । जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौँ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए ।

उनका अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, बरी, अचार, मिठाईसहितका व्यञ्जन समावेश गरिएको थियो । साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ दासले जानकारी दिए ।

उनले भने ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौँ । दुई सयदेखि पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ ।’

एक सातादेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गएराति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् । विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वम्यवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमवार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =