सहकारी पीडित धर्नामा

संघीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।
धर्नामा दैनिक पीडितको सङ्ख्या बढ्न थालेको छ। पीडित बढ्न थालेपछि जोरपाटी सुन्दरीजल सडक अवरुद्ध नहोस् भनी ट्राफिक प्रहरी नै खटाउन थालिएको छ।
आजको धर्नालाई सम्बोधन गर्दै सहकारी बचतकर्ता राष्ट्रिय अभियानका अध्यक्ष कुस्लव केसीले बचतकर्ता समस्यामा परेकाले राज्यले बचतकर्तासँग लिएको पाँच प्रतिशत रकम फिर्ता गरेर समस्या समाधानमा सहयोग गर्नुपर्नेमा जोड दिए।
राजनीति गर्नेहरु मिलेर सहकारीमा समस्या आएको उल्लेख गर्दै उनले बचतकर्ता एक भएर सडकमा आएमात्र बचत फिर्ताका लागि दबाब सृजना हुने भनाइ राखे।
सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन्।
छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन्। सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित रोजी पोखरेलले बताए।
दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए।
सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन्। सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन्।
सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले रु ७० लाख ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बर्ताए। बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन्।
श्रेष्ठ अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ। सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं। ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ।
सहकारी खोलेपछि सञ्चालकका झुपडी दरबारमा बदलिएको तर बचतकर्ताको पैसा फिर्ता हुन नसकेकाले पीडित सङ्गठित हुन थालेका हुन्। रासस








