‘गोल्ड मेडलिस्ट’ संस्कृति र सनमको अनुभव– मेहनत गरे असफल भइँदैन

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयु) को चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका संस्कृतिश्री कोइराला र सनम ढकाल गोल्ड मेडल हासिल गर्न सफल भएका छन् ।

छात्रतर्फ ढकाल र छात्रातर्फ कोइरालाले गोल्ड मेडल हासिल गरेका हुन् । उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार दीक्षान्त समारोहका अवसरमा मेडल प्रदान गरे ।

गोल्ड मेडल हासिल गरेपछि कोइरालाले गोल्ड मेडलिस्ट बन्दा अझ बढी जिम्मेवारी बोध भएको बताएकी छन् । उनले पढाइलाई अझै राम्रो गरेर नेपालमै बसेर मेडिकल सेक्टरमा अझै राम्रो सर्भिस दिने आफ्नो योजना रहेको बताइन् ।

मकालुखबरसंग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्– ‘मलाई गोल्ड मेडलिस्ट बन्दा धेरै नै खुसी लागेको छ । केयुको गोल्ड मेडलिस्ट भएपछि झन् बढी जिम्मेवारी बढेको अनुभव भएको छ । पढाइलाई अझै राम्रो गरेर नेपालमै बसेर मेडिकल सेक्टरमा अझै राम्रो सर्भिस दिने चाहना छ ।’

उनले आफूले सानैदेखि नेपालमै डाक्टर पढ्ने र नेपालमै सेवा गर्ने सोच बनाएको बताइन् ।

उनले भनिन्– ‘सुरुदेखि नै नेपालमा नै डाक्टर पढ्ने भन्ने सोच राखेर अरु कुनै कुरालाई ध्यानमा नराखी पढाइलाई निरन्तर दिएँ । यसपछि पिजी गर्न विदेश जाने भन्ने हुन्छ, तर मेरो त्यस्तो केही सोच छैन, नेपालमा नै बसेर सेवा गर्ने सोच छ ।’

उनले नेपालमै डाक्टरी पढ्न सहज नभए पनि निरन्तर मेहनत गर्दा असम्भव नहुने बताइन् । नेपालमै मेडिसियन पढ्न चाहने विद्यार्थीलाई उनले सुझाव दिँदै भनिन्– ‘मेडिसियन पढाई त्यति सजिलो त छैन, तर आफूले लगातार मेहनत गर्दा सफल भइन्छ । मेडिसियन पढ्दा पैसा कमाउँछु भन्ने होइन, आफ्नो इच्छाले पढ्नु पर्छ, कसैको दबाबमा पढ्ने होइन आफ्नो इच्छा अनुसार पढियो भने सफल भइन्छ ।’

यस्तै छात्रतर्फ गोल्ड मेडलिस्ट बनेका ढकालले चिकित्सातर्फको आफ्नो लगातारको मेहनतको नतिजा पाउँदा खुसी लागेको बताउँदै घर परिवारको सपोर्टले यो सफलता दिलाएको प्रतिक्रिया दिएका छन् । आफूले ५ वर्ष मेहनत गरेपछि पाएको सफलताले आफूलाई थप जिम्मेवार बनाएको र परिवारको पनि मान सम्मान बढेको उनी बताउँछन् ।

मकालुखबरसंग संक्षिप्त कुराकानी गर्दै उनले भने– ‘आफूले ५ वर्ष पछि मेहनत गरेपछिको नतिजा पाउँदा म एकदमै खुसी छु । मेडलिस्ट बनेपछि मलाई पढाएका गुरुहरूको धेरै सम्झना आयो, घरबाट गरेको साथ सपोर्टको धेरै यादहरू आए, म र मेरो परिवार सबै खुसी छौं । ’

उनले आफ्नो सुरुवाती सपना भने पाइलट बन्ने रहेको सुनाए । उनले डाक्टर की पाइलट पढ्ने भन्ने सोचमा हरेका बेला डाक्टर नै पढेको र आफ्नो रुचिको विषय पढ्दा सफलता मिलेको बताए । उनले यो सफलतापछि जिम्मेवारी थपिएको स्मरण गरे ।

उनले भने– ‘यो मेरो सुरुवाती हो, मेरा केही जिम्मेवारीहरू थपिएका छन् । गोल्ड मेडलिस्ट भएपछि सबै जनाको अपेक्षाहरू बढेको छ । त्यो अनुसार मैले गर्नुपर्छ भन्ने लाग्छ । सुरु वाट नै डाक्टर कि पाइलट बन्ने इच्छा थियो । मान्छेको सेवामा रुचि भएको कारण मैले डाक्टर पढेँ, अहिले सफल हुँदा धेरै खुसी लागेको छ । ’

उनले विदेश गएर पढ्ने आफ्नो चाहना नभएको बताए । उनले नेपालमै बसेर नेपालीको सेवा गर्ने प्रण रहेको सुनाए ।

उनी भन्छन्– ‘बाहिर गएर पढ्ने भन्ने सोच मेरो थिएन । अब म नेपालमा बसेर आफ्नो गाउँको अस्पतालमा जागिर गर्छु । त्यसपछि अन्य पढाई पुरा गर्ने छु ।’

गोल्ड मेडलिस्ट ढकालले नेपालमै बसेर पनि पढाइमा प्रगति गर्न सकिने बताए । उनले आफ्नो लक्ष्य के हो भन्ने कुरा प्रष्ट भए असफल नभइने बताए ।

उनले भने– ‘केही कुरा पनि असम्भव भन्ने हुँदैन । आफ्नो लक्ष्य के हो भन्ने कुरा पहिला सोच्नु पर्ने हुन्छ । आफ्नो लक्ष्य पुरा गर्न धेरै मेहनत गर्नुपर्छ । असफल भएमा सबै कुरा सकियो भन्ने सोच राख्नु हुँदैन । पढाइलाई नियमित मेहनत गर्नु भयो भने अवश्य सफल भइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *