यसरी मनाइयो छैटौं राष्ट्रिय झण्डा दिवस

काठमाडौं । छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आइतबार काठमाडौंको वसन्तपुरबाट र्यालीसमेत निकालेको थियो ।
२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान सुरु गरेको बताए ।
उनले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रूपमा सम्झिने गर्छौं । झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको शुरुवात गरेका हौं । नेपालीलाई नै झण्डाको एउटा महत्त्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौं । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो ।’
प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।








