राम–जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत जनकपुरधाममा मटकोर सम्पन्न

काठमाडौं । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिवार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन् । महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए ।

मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम समेत राखिएको थियो ।

जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुग्नुभएको थियो ।

वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ ।

जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो ।

आईतवार स्वयम्वर तथा विवाहोत्सव र सोमवार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =