नयाँ स्टक एक्सचेन्जको प्रक्रिया छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले धितोपत्र बोर्ड सञ्चालक समितिलाई नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
‘स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया छिटो अघि बढाउनू, अब ढिला नगरौं,’ प्रधानमन्त्रीलाई उदृत गर्दै बोर्डका एक सञ्चालकले भने ।
नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने प्रक्रिया अगाडि बढाउन अनुमति माग्दै धितोपत्र बोर्डले समेत आइतबार अर्थ मन्त्रालयमा पत्राचार गर्ने भएको बोर्ड स्रोतले बताएको छ । यद्यपि धितोपत्र बोर्डले यसलाई पुष्टि गर्न चाहेन ।
‘शुक्रबार यो विषयमा सञ्चालक समितिमा छलफल भएको साँचो हो,’ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने,‘तर, हामीले अर्थ मन्त्रालयलाई कुनै पत्राचार गरिसकेका छैनौं ।’
आगामी पुस २० गते धितोपत्र बोर्डको अध्यक्षको रूपमा हमालको कार्यकाल सकिँदैछ । यसअघिका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको निलम्बनपछि बाँकी कार्यकालको लागि हमाल नियुक्त भएका थिए । आधा कार्यकालमा आफूले नेतृत्व गर्न पाएको भन्दै हमाल अध्यक्षमै दोहोरिने प्रयासमा पनि छन् ।
तर, दोस्रो कार्यकालको टुंगो लाग्नु अगावै उनले निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्जलाई समेत अनुमति दिने प्रयास गरिरहेका छन् ।
२०८० वैशाख २८ गते प्रधानमन्त्री दाहालकै निर्देशनमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोकिएको थियो । संघीय संसदको अर्थ समितिले समेत यसमा चासो राख्दै तत्काललाई प्रक्रिया रोकेर छलफलमा आउन धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।
छलफलपछि कात्तिकमा तिहारको बिदा सुरू हुनुभन्दा एक दिनअघि कात्तिक २४ गते अर्थ समितिले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्जको प्रक्रिया सुरू गर्न बाटो खुला गरिदिएको थियो। सो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले भने अर्थ समितिको निर्णयमा नोट अफ डिसेन्ट जनाएका थिए ।
उनले बिदा अघि यसरी हतार हतार नयाँ एक्सचेन्जको लागि अनुमति दिन लागिएको र पर्याप्त छलफल हुन बाँकी रहेको उल्लेख गरेका थिए ।
सरकारले अध्ययन बिनै नयाँ स्टकलाई लाइसेन्स दिन लागेको भन्दै सरकार साझेदार दलकै नेताहरूले विरोध गरिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले बिना अध्ययन अहिले नै स्टक एक्सचेन्जलाई अनुमति दिन लागिएको विषयलाई कांग्रेसले समर्थन गर्न नहुने बताइरहेका छन् ।
यसअघि प्रधानमन्त्रीको निर्देशनको कारण रोकिएको स्टक एक्सचेन्ज छनोट प्रक्रियालाई पुनः सुरू गर्न अनुमति माग्दै धितोपत्र बोर्डले आइतबार अर्थ मन्त्रालयमार्फत् पत्राचार गर्न लागेको हो ।
निर्देशनअघि बोर्डमा तीन वटा संस्थाले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिएका थिए । हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको थियो ।
हिमालयन एक्सचेन्जमा शंकर समूहका शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका लगायतको लागानी छ ।
त्यस्तै, नेशनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपाली तथा व्यवसायी दीपक तिमिल्सिना, डा.उपेन्द्र महतो, जीवा लामिछाने लगायतको लगानी छ । अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्र राज वाग्ले, गणेश कुमार श्रेष्ठ लगायतको लगानी छ ।








