नेपाल-रुस चेम्बर अफ कमर्सको पहलमा रुसले व्यापार प्रवर्द्धनका लागि सहयोग गर्ने

काठमाडौँ । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ ।
नेपाल–रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलबाट व्यापार प्रवर्धनका लागि रुसले नेपाललाई सहयोग गर्ने भएको हो ।
बिहीबार नेपाल–रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेट गरेको थियो ।
उक्त छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए ।
अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, ऊर्जा र व्यापारमा ठूलो सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । उनले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए ।
साथै, शेरचनले नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको र नेपालको प्रविधि क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै व्यापार प्रवर्धनका लागि समेत सहयोगको आग्रह गरे ।
चेम्बरका महासचिव विष्णुहरि पाण्डेका अनुसार नेपाल र रुसबिच सिधै हवाई उडानको लागि छलफल भएको बताए ।
चेम्बर अफ कमर्स, रुसका व्यापार आयुक्त र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बीचको संयुक्त छलफलमा उक्त प्रस्ताव राखेको पाण्डेले बताए ।
उनले भने ‘आजको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीसँगको छलफल र भोली हुने लगानी बोर्डका अध्यक्षसँगको छलफलबाट नेपाल र रसिया बीचको चारओटा प्रान्तमा सिधा उडानको लागि थप पहल गर्नेछौँ ।’
साथै रसियामा रहेका २५/३० लाख बौद्ध धर्मलम्बीहरूलाई सिधैँ चार्टर उडान मार्फत लुम्बिनी ल्याउने छलफल भएको समेत उनले बताए ।
छलफलमा राष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।








