थुनामा रहेका नासुलाई छुटाइदिने भन्दै १ करोड ठगी गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा पत्रकार डिल्ली पाण्डे पक्राउ परेका छन् ।
पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै रकम लिएको आरोपमा पत्रकार पाण्डे पक्राउ परेका हुन् ।
पाण्डेसहितको टोलीले करिब १ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
आइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गरेको थियो । सीआइबीले राई र चौधरीलाई यसअघि नै सार्वजनिक गरिसकेको छ ।
भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा भन्सार कार्यालयका सुब्बा रेवन्त खड्कालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा पुगेका खड्कालाई छुटाइदिने भन्दै भोजपुरकी रिता राईले रेवन्तका बुवामार्फत करिब १ करोड रुपैयाँ बुझेकी थिइन् । त्यही रकममध्ये २७ लाख रुपैयाँ पाण्डेले लिएको रितुले बयान दिएकी थिइन् । रितुकै बयानका आधारमा पाण्डेसमेत पक्राउ परेका हुन् ।
पाण्डेले पनि ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र रितु राईसँग लेनदेन भएकाले आफूले लिनुपर्ने रकम मात्रै आफूले लिएको बताएका छन् ।
सीआइबी श्रोतका अनुसार राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको देखिएको छ । पाण्डेले लिएको रकम पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भनेर लिएका हुन् कि रितु राईसँगको आर्थिक कारोबार मात्रै हो भन्ने सम्बन्धमा समेत अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।








