मकालु अन्तर्वार्ता

ध्यानले मेरो धेरै भ्रम तोडिदियो – विजय बराल

‘तपाईँ पनि मेरो गेस्टलिस्टमा हुनुहुन्छ है । काठमाडौँ भएको बेलामा भन्नु ।’ मैले विजय बराललाई म्यासेज गरेँ ।

‘अहिले म काठमान्डुमै त छु नि ।’ उनले जवाफ दिए । 

‘त्यसो भए कुरा कहिले गर्ने?’ मैले सोधेँ । 

‘गर्ने भए गर्ने ।’ उनले सदाझैँ अनौपचारिक लबजमा जवाफ फर्काए । अनि मैले उनलाई फोन गरेँ । 

‘के विषयमा बोल्छौँ हामी?’ उनले सोधे । 

‘त्यो सबै त अहिले भन्दिनँ । मलाई स्वाभाविक रूपमा निस्किएको उत्तर मनपर्छ ।’ मैले भनेँ । 

उनले धेरै कर गरेनन् । मैले नै उनलाई थोरै सहज हुन्छ भनेर भनेँ ‘तपाईँको हजुरआमा भर्खरै बित्नुभएको छ । उहाँको मृत्युपछि तपाईँले गर्नुभएको पोस्ट हेरेको थिएँ । मृत्युको बारेमा कुरा हुन सक्छ । अनि छोरा पनि जन्मिएको छ । जन्मको बारेमा पनि कुरा हुन सक्छ । समग्रमा दैनिक जीवनमा हुने कुराहरूले एक कलाकारलाई के दिन सक्छ त्यो विषयमा कुरा हुन सक्छ ।’ 

उनी उत्साहित सुनिए । हामीले भेट्ने दिन निश्चय गर्‍यौँ ।

मैले सुटिङको तयारी थालेँ । 

सुटिङ बिहानै राख्ने कुरा भएको थियो । सुटिङ हुने दिन बिहान फेसबुक हेर्दा थाहा भयो उनको जन्मदिन रहेछ । 

हामी भेट्यौँ । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । ‘बोली थोरै खस्किएको छ । सुनिन्छ होला नि?’ उनले यसो भन्दा ‘माइक राम्रो छ नि’ भनेर जिस्किएँ ।

सदाझैँ उनले सिङ्गिङ बोल बजाएर कार्यक्रम सुरु भयो । मैले उनलाई सोधेँ ‘विपश्यना गर्दाको अनुभव सुनाउनु न ।’ 

विजय बराल भन्नासाथ धेरैले फिल्मको कमेडी चरित्रलाई बुझ्ने गरेका छन् । तर उनले रङ्गमञ्चमा गरेका धेरै गहन कामहरू पनि मैले हेरिसकेको थिएँ । उनले भारतमा माइम सिक्न गएको पनि मलाई थाहा थियो । त्यही बेलामा बिपश्यना पनि गएका रहेछन् । मलाई त्यो कुरा थाहा थिएन ।

‘पीयूष मिश्राले बिपश्यनाले सहज बनायो भनेको सुनेको थिएँ । म पनि सहजता खोज्दै गएँ ।’ उनले भने । 

हामीले केही बेर ध्यानको बारेमा गफ गर्‍यौँ । मैले सोधिरहेँ ‘ध्यान गर्दा के के पलहरू आउँदो रहेछ? ध्यानले के सिकाउँदो रहेछ?’

उनी भन्दै गए ‘रोकिएर सुन्दा म भ्रममा रहेछु भन्ने कुरा क्लियर गर्दो रहेछ । मलाई म नभए नाटक चल्दैन भन्ने भ्रम थियो ।’

ध्यानको विषयमा निक्कै बेर विमर्श गरेपछि हामी चरित्रको तयारी बारेमा कुरा गर्न थाल्यौँ । मैले सोधेँ ‘चरित्रको पृष्ठभूमिलाई नेपाली सिनेमामा कत्तिको हेरिन्छ?’

उनले बिके चरित्रको ग्रोथको बारेमा सुनाए । अनि सँगै आफूले समाजमा भएको जातको प्रथालाई देखेको कुरा बिकेमा कसरी ल्याइपुर्‍याए भनेर पनि सुनाए । 

त्यो सँगै हामीले उनको हजुरआमाको बारेमा कुरा गर्‍यौँ । हजुरआमाहरूले गर्नुभएको विद्रोहको चर्चा गर्‍यौँ । उहाँको मृत्युले उनलाई सिकाएको मृत्यु चेत केलायौँ । 

फेरि सिनेमातिर फर्किएर सबटेक्स्टको कुरा गर्‍यौँ । नेपाली फिल्मका संवादहरूमा किन सबटेकस्ट कम छन् चर्चा गर्‍यौँ । 

यसरी लगभग एक घण्टा छ मिनेटसम्म गफ गरेपछि बिदाबारी भयौँ । 

कार्यक्रमभर मैले उनलाई सोधेका प्रश्नहरू तथा उनले दिएका उत्तरहरू तलको टाइम स्ट्याम्पमा गएर सिधै सुन्न सकिन्छ । सुन्नुहोला है त ।

0:00 01:05 – अन्तर्वार्ताको सुरुवात

1:06 – विपश्यना गर्दाको अनुभव सुनाउनु न । कसरी जानु भयो?

5:43 – ध्यान गर्दा के के पलहरू आउँदो रहेछ ? त्यसले के सिकाउँदो रहेछ?

9:07 – अरूसँग काम गर्ने कुरालाई त्यसले कसरी फरक पार्‍यो वा अरूलाई हेर्ने दृष्टिकोण कसरी फरक भयो?

11:20 – कसैले तपाईँलाई कुनै चिज भन्दिएको सम्झिनु न । कुनै सानो कुरा होस् तर त्यसले ठुलो प्रभाव पारेको होस् ।

15:14 – आफूलाई पत्याउने कि अरूलाई पत्याउने?

17:00 – चरित्रको तयारी गर्दा कस्तो देखिन्छ र कस्तो सोच्छ फरक फरक हुन्छ । तपाईँले त्यसलाई कसरी बुझ्नुहुन्छ? 

18:53 – चरित्रको पृष्ठभूमिलाई नेपाली सिनेमामा कत्तिको हेरिन्छ?

24:17 – बिके बाहेकको तल्लो वर्गको भनिने अरू नेपाली चरित्रहरूको मेकिङ कस्तो लाग्छ?

27:44 – तपाईँले हजुरआमाहरूले गरेको विद्रोहलाई कसरी बुझ्नुभएको छ?

30:00 – हजुरआमाहरूलाई विद्रोहप्रति सजग के ले बनायो होला?

30:40 – आफ्नो नितान्त व्यक्तिगत घटनाले जस्तो कि हजुरआमाको मृत्युले तपाईँलाई कसरी विकास गर्‍यो?

34:40 – हामीलाई अक्सर मृत्युसँग प्रतिक्रिया जनाउन आउँदैन है?

36:20 – नेपाली सिनेमाको संवादमा सबटेक्सको प्रयोग कस्तो भइरहेको जस्तो तपाईँलाई लाग्छ? (दीपक रौनियारसँग काम गर्दाको अनुभव)

41:43 – स्क्रिप्ट रिडिङ गर्दा तपाईँलाई फिल हुने ग्याप के हो?

44:12 – समाजमा धेरै ह्युमर छ । तर हाम्रो सिनेमाको ह्युमर कस्तो लाग्छ?

47:20 – हाम्रो समाजमा ‘बाउ भएपछि थाहा पाउँछस्’ भन्ने उखान छ । तपाईँले बाउ भएपछि के थाहा पाउनुभयो?

55:27 – बच्चा भएपछि श्रीमतीको अवस्था हेर्दा समाजका महिला पात्रहरूलाई कसरी बुझ्नुभयो?

1:01:03 – तपाईँलाई के ले खुसी बनाउँछ?

1:02:30 – तपाईँलाई के ले दुखी बनाउँछ?

1:03:30 – के ले आशावादी बनाउँछ?

1:03:47 – तपाईँले गरेको कुनै गल्ती जुन अरूले नगरुन् भन्ने लागेको छ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *