चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन् : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरू निराश भएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनावमा दलहरूले जारी गरेका घोषणापत्र र उम्मेदवारहरूले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरू राजनीतिप्रति असन्तुष्ट रहेको बताए । उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए ।

उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए ।

उनले भने ‘चुनावमा घोषणा पत्र दलहरूले जारी गर्दछन्, उम्मेदवारहरूले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादि मत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छौँ, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ । सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्नसक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई कामकारबाही गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =