क्यानको चेतावनी : तत्काल जैविक ऊर्जा प्रयोग नरोके समस्याहरू थपिन सक्छ

काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाईमेट एक्शन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप २८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप २८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो ।
जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरूको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक ऊर्जा रोक्ने निर्णय गर्न ढिलाइ भएमा जलवायु परिवर्तनजन्य समस्याहरू थपिन सक्ने चेतावनी दिएको हो ।
क्यानले कोइला र जैविक ऊर्जा अत्यधिक खपत गर्दे आएका विकसित देशहरूले शक्तिको आडमा आफू अनुकलन हुने गरी जैविक उर्जाकोे प्रयोगलाई कायमै राख्नुले गरिब मुलुकलाई जलवायु न्याय दिन नसक्ने टिप्पणी गरेको छ ।
उसले जैविक ऊर्जा खपतका सम्बन्धमा पेरिस सम्झौता कार्यान्वयन तथा आफ्नै प्रतिविद्धताबाट शक्ति राष्ट्रहरू पछि हट्न नमिल्ने तर्क गरेको छ ।
क्यानको तर्फबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकको रुपमा सम्मेलनका सहभागी कोलिन म्याक्युस्टनले विश्व तापमा वृद्धि रोक्नका लागि तत्काल जैविक ऊर्जाको प्रयोग रोक्ने निर्णय गरिनुपर्ने बताएको हो ।
पृथ्वीको तापक्रम बढ्दै जानु र विकसित मुलुकहरूको जैविक ऊर्जाप्रतिको मोह नघट्नुले जलवायु न्यायमा प्रत्यक्ष प्रभाव पार्ने टिप्पणी उनले गरे ।
क्लाइमेट एक्शन नेटवर्कमा जलवायु तथा अध्ययनशीलतासम्बन्धी विज्ञ कोलिन म्याक्युस्टनले जैविक ऊर्जाको प्रयोग बन्द नगर्दासम्म जलवायु परिवर्तनको असर विरुद्ध लड्न नसक्ने वैज्ञानिक तथ्यलाई ठूला देशले बेवास्ता गरेको बताए ।
जलवायु परिवर्तनसम्बन्धी कोषमा उपलब्ध गराएको आर्थिक सहायताको आडमा धनी भनिएका देश जैविक ऊर्जाको प्रयोग घटाउन अनिच्छुक भएको बताए ।
क्यानका अन्तर्राष्ट्रिय प्रतिनिधि कोलिनले कोप २८मा हानी नोक्सानी कोष कार्यान्वयनको सम्बन्धमा भएको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए ।
उनले कोष कार्यान्वयनमा लैजाने र त्यसको नेतृत्व गर्ने निकाय पनि टुंगो लागेबाट जलवायु परिर्वनको क्षेत्रमा कार्यरत सबैलाई खुसी बनाएको उल्लेख गरे ।
उनले कोषको समान वितरणको सवालमा भने अझै पनि गम्भीर हुन आवश्यक रहेको बताए । प्राक्टिकल एक्शनका जलवायु उत्थानशील कार्यक्रम प्रमुख समेत रहेका कोलिनले जलवायुलाई सबै भन्दा बढी असर गरिरहेको जैविक ऊर्जाको प्रयोग कम गर्ने सवालमा कोपका सदस्य राष्ट्रहरूबाट विज्ञानलाई नै चुनौती दिने किसिमका प्रतिक्रिया आउनु दुःखद् भएको बताए ।
जैविक ऊर्जा प्रयोग बन्द गर्ने विषय ग्लाल्स्को सम्मेलनमा विवादित बनेको थियो । दुबई सम्मेलन सकिन २ दिन बाँकी रहँदा यस सम्बन्धमा कुनै निर्णय भएको छैन । क्लाइमेट एक्शन नेटवर्क (क्यान)ले सबै किसिमका जैविक ऊर्जाको प्रयोग बन्द गर्नुपर्छ भन्दै विश्वव्यापी वकालत गर्दै आएको छ ।
यसैबीच दुबईको एक्स्पो सिटिमा जारी सम्मेलनमा जैविक ऊर्जा प्रयोग रोक्न माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन् । जलवायु न्यायको क्षेत्रमा वकालत गर्दे आएका विभिन्न मुलुकका सहभागीहरूले जैविक ऊर्जाको प्रयोग रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
त्यसैगरी निरन्तर वृद्धि हुँदै गएको पृथ्वीको तापक्रमले मानव जीवनमा पार्ने असरका बारेमा प्रतिकात्मक रूपका प्रदर्शन पनि हुँदै आएका छन् ।
विश्व जलवायु सम्मेलन अन्तिम चरणमा प्रवेश गर्दे गर्दा सम्मेलन केन्द्र भित्र जलवायु न्यायका लागि हुने प्रर्दशनहरु पनि बढ्दै गएका छन् ।








